चीनले कब्जा गरे नेपाली जग्गा, ११ नम्बर पिलर गायब, ओली सरकार किन मौन ? (विशेष)


काठमाडौं : चीनले हुम्लामा नेपाली भूभाग अतिक्रमण गरेर भवन बनाएको विषय बाहिर आएको छ ।

विभिन्न मिडियामा यो विषय आएपछि चीनले यस विषयमा आफ्नो धारणा सार्बजनिक गरेको छ । तर नेपाल सरकारले भने आधिकारिक रुपमा आफ्नो धारणा अहिलेसम्म राखेको छैन । चिनियाँ पक्षले निर्माण गरेको संरचना बारे हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोली उक्त क्षेत्रमा पुगी अध्ययन तथा छलफल गरिसकेको बताइएको छ ।

नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङ चिनियाँ पक्षले निर्माण कार्य गरिरहेको क्षेत्र नेपालको रहेको बताएका छन् । उनले उक्त क्षेत्रमा पिलरको खोजी समेत भइरहेको बताए । चीनले हुम्लामा नेपालको भूमिको २ किलोमिटर क्षेत्रभित्र नौ वटा भवन बनाइसकेको बताइएको छ ।

चिनियाँ सैनिकले उक्त क्षेत्र आफ्नो भन्दै नेपालीलाई प्रवेश गर्न समेत रोकेका छन् । यसबारे सरोकार राख्ने भूमि व्यवस्था, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालय समेत जानकार रहेको स्रोतहरु बताउछन् । तर, परराष्ट्र मन्त्रालयले यस प्रकरणमा अहिलेसम्म आफ्नो धारणा सार्बजनिक गरेको छैन ।

अध्ययन टोलिले के देख्यो ?

स्थलगत अध्ययन गर्न गएको टोली हुम्ला सदरमुकाम सिमीकोटबाट चिनियाँ पक्षले भवन बनाएको भनिएको स्थानमा आइतवार पुगेको थियो । त्यस बेला त्यहाँ चिनियाँ प्रहरीहरू बसिरहेको पाइएको र उनीहरूले नेपाली पक्ष आएको भन्दै चिनियाँ सेनालाई बोलाएको नाम्खा गाउँपालिकाका अध्यक्ष तामाङले बताएका छन् ।

चीनले भवनहरू बनाएकोभन्दा एक किलोमिटर वरनै नेपालतर्फको क्षेत्रको भूभाग हाम्रो हो भन्ने चिनियाँ पक्षको भनाइ रहेको तामाङ बताउछन् । उनका अनुसार नेपालको ११ नम्बरको पिलर हालसम्म नभेटिएकाले यकिन गर्न गाह्रो भएको छ । लाप्चा लेकमा रहेको १२ नम्बरको पिलरलाई आधार मान्ने हो भने त्यो भवनहरू बनेको ठाउँ नेपालकै भूमिमा पर्ने उनको दाबि छ ।

अहिले भवन बनेका भन्दा साढे दुई किलोमिटर उत्तरतिर आफूहरूले बाटो खनेको भन्दै उपभोगका हिसाबले उक्त भूमि नेपाली भएको देखिन्छ । नेपालले अब राष्ट्रिय स्तरबाटै ११ नम्बरको पिलर रहेको स्थान पत्ता लगाउन पर्ने भन्दै अध्यक्ष तामाङले सो पत्ता लागेमा उनीहरूले पनि र हामीले पनि गलत दाबी गर्ने ठाउँ नरहने बताउछन् ।

नाम्खा गाउँपालिकाको सीमा चीनसँग जोडिएपनि त्यहाँ सरकारको उपस्थिति शून्य रहेको छ । हाल चिनियाँ पक्षले भवनहरू बनाएको वडा नम्बर ६ मा तीनवटा गाउँहरू भए पनि ती चिनियाँ सीमाभन्दा टाढा छन् । झन्डै डेढ सय घरधुरी रहेको उक्त क्षेत्रबाट ुटिपरु चढेर चीनसँगको सीमामा पुग्न करिब तीन घण्टा लाग्ने बताइन्छ ।

सीमा अध्ययन टोलीका अनुसार नाम्खा गाउँपालिका वार्ड नम्बर ६ लालुङ्जोङमा रहेको उक्त स्थानमा चीनले केही वर्षअघि दुईवटा भवनहरू बनाएको थियो। ईँटबाट बनेका प्लास्टर गरिएका भवनहरू त्यतिकै छाडिएको भए पनि यो वर्ष ११ वटा भवन बनाएर पर्खाल लगाएको र सोलार पनि जडान गरेको पाइएको अध्ययन टोलीले जनाएको छ।

अध्यय टोलिलाई चिनियाँ प्रहरीहरुले व्यापारिक प्रयोजनका लागि ती भवन बनाइएको जानकारी दिएका छन् । चिनियाँ पक्षले भवन बनाएको स्थानसम्म पुगेको प्रमुख जिल्ला अधिकारीको नेतृत्वको टोलीमा नेपाली सेनाका सात जना र सशस्त्र प्रहरीका १४ जना सहभागी थिए ।

चीनले के भन्यो ?

चिनियाँ दूतावासले प्रेस विज्ञप्तिमा नेपालको सार्वभौमिकता र अखण्डताको सधै सम्मान गर्ने भन्दै कुनै सीमा विवाद नरहेको बताएको छ ।

केही दिनयता नेपाली सञ्चार माध्यमहरुमा चिनियाँ पक्षले हुम्लास्थित नेपाल–चीन सीमा क्षेत्रको नेपाली भूभागमा भवन निर्माण गरेको समाचारलाई लिएर काठमाडौंस्थित चिनियाँ दूतावासले मंगलबार राति खण्डन जारी गरेको छ ।

चिनियाँ दूतावासका प्रवक्ता वाङ सीयओलङले जारी गरेको विज्ञप्तिमा चीन–नेपाल सीमा क्षेत्रमा बनेको भवन चीनकै भूभागमा रहेको प्रमाणित भएको दाबी गरेका छन् । ‘नेपाली पक्षले फेरि प्रमाणीकरण गर्न सक्छ,’ प्रवक्ता वाङले भनेका छन् ।

उनले चीन र नेपाल नजिकको छिमेकी रहेको बताएका छन् । ‘चीनले सधैं नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई सम्मान गरेको छ,’ उनले भनेका छन् ।

चिनियाँ दूतावासका प्रवक्ता वाङले चीन र नेपालको कुनै पनि भूभाग सम्बन्धमा विवाद नभएको उल्लेख गर्दै दुवै पक्षले जहिले पनि सीमा मामिलामा संवाद गर्न सक्ने बताएका छन् ।

कसले के भने ?

हुम्लामा चीनले सीमा अतिक्रमण गरेको विषयमा राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । अध्यक्ष थापाले भनेका छन् ( ुहुम्ला जिल्ला,नाम्खा गाउँपालिकाको नेपाली भूमी चिनले अतिक्रमण गरेको, भवनहरू बनाएको समाचार आएको छ।यसवारे तत्काल सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्दछु। साथै, अतिक्रमित भूमीबाट चिनियाँ पक्षलाई फिर्ता पठाउन अविलम्ब पहल गर्न समेत प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान आकर्षित गर्दछु ।ु

त्यस्तै पूर्व सांसद एवं मन्त्री सरीता गिरीले एक विज्ञप्ति जारी गर्दै नेपालले आफ्नो सीमा रक्षा गर्न सक्दैन भने छिमेकीको सहयोग लिएर उत्तर तर्फको सीमाको रक्षा गर्ने व्यवस्था गर्न माग गरेकी छन् । साथै उनले यस बारेमा तुरुन्त जानकारी गराउन सरकारसँग माग गरेकी छन् ।

त्यस्तै जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले नाम्खामा उत्तरी छिमेकीले ११ वटा घर बनाएको थाहा नपाएको बताएका छन् ।

उनले सामाजिक संजालमा टिप्पणी गर्दै भनेका छन्- ‘दक्षिणी छिमेकीले कालापानीमा १८ किमि सडक बनाएको मिडियाबाट थाहा पाउने हाम्रो सरकार ! अहिले उत्तरी छिमेकीले हुम्लाको नाम्खामा ११ वटा घर बनाएको पनि अन्तर्राष्ट्रिय मिडियाबाटै सुन्ने हाम्रो सरकार १ खर्बौं रूपियाँ खर्चेको सुरक्षारगुप्तचर अंगको के काम रु फेरि यै सरकारलाई राष्ट्रवादी ठान्ने हामी के ?’

प्रकाशित : २०७७ आश्विन ७, बुधबार १७:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ