रोकिएका सबै परीक्षा छठपछि सञ्चालन गर्ने त्रिविको तयारी


टुडेखोज, काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोरोना भाइरसको संक्रमणका कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ ।

त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले छठलगत्तै रोकिएका परीक्षा सञ्चालन लिने तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो । विद्यार्थीलाई पायकपर्ने ठाउँबाट नै परीक्षा दिने वैकल्पिक व्यवस्थासहित छठलगत्तै परीक्षाको तयारी थाल्न त्रिविले निर्देशन दिइएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।

दशैं अगाडि नै परीक्षाको कार्यतालिका सार्वजनिक गर्न सम्बन्धित डिन कार्यालयलाई पत्रचारसमेत गरिसकेको छ । त्रिविले विद्यार्थी थोरै भएका परीक्षा भने दशैं र तिहारको बीचमा लिने बताइएको छ । कोरोनाको स्थिति अहिलेको भन्दा जटिल भयो भने फेरि पनि के गर्ने विषयमा छलफलपछि निर्णय लिने त्रिविले जनाएको छ ।

पनिकाले आजै नै सबै डिन कार्यालयलाई परीक्षाको तयारी थाल्नका लागि परिपत्र गरेको छ । त्रिविले भौतिक दूरी र स्वास्थ्यको मापदण्ड तोकेर परीक्षा लिने व्यवस्था गर्नेछ । पनिकाले वार्षिक परीक्षा र सम्बन्धित डिन कार्यालयले सेमेष्टर परीक्षा लिने छ ।

त्रिविका रजिष्ट्रार प्रा. डा. पेशल दाहालले स्थगित भएका सबै परीक्षा सञ्चालन गर्नका लागि तयार गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिइसकेको बताए । उनले भने, ‘आवश्यक तयारी गर्न निर्देशन दिइसकेका छौ । अब चाँडै परीक्षा सञ्चालनको तयारीमा सम्बन्धित कार्यालय जुट्नेछ ।’

भौतिकरुपमा विद्यार्थीलाई उपस्थित गराएर परीक्षा लिन भनेको पनि उनले बताए । फाराम भरेकाको परीक्षा पहिले गर्ने र त्यसपछि अन्य परीक्षा सञ्चालन गरिने उनको भनाई छ ।

प्रकाशित : २०७७ आश्विन ७, बुधबार २०:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ