काँग्रेसले भन्यो- हुम्ला जग्गा अतिक्रमण विषयमा सरकारको धारणा अपरिपक्क


टुडेखोज, काठमाडौं : मुख्य विपक्षी दल नेपाली कांग्रेसले हुम्ला जिल्लामा चीनले सीमा मिचेको होइन भन्ने सरकारको धारणा अपरिपक्क रहेको टिप्पणी गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार एक विज्ञप्ति जारी गरी प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाली सेना र नेपाल प्रहरीसमेतको टोलीले अध्ययन गरी सदरमुकाम फकिर्नु पूर्व नै सरकारले धारणा सार्वजनिक गर्नु युक्तिसङ्गत नदेखिएको टिप्पणी गरेका हुन् ।

अध्ययन टोलीले बुधबार ११ नम्बर पिलर भेटेको र चीनले निर्माण गरेको १२ नम्बर पिलरबाट भित्र हो कि बाहिर भन्ने अध्ययन टोलीको निष्कर्षपछि मात्र सीमा मिचिएको हो कि होइन भन्ने निष्कर्ष पुग्न सकिने स्थितितर्फ सरकारले हेक्का नराखेको कांग्रेसको भनाइ छ ।

कांग्रेस केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले पनि वास्तविकताबारे वस्तुगत अध्ययन गरिरहेको बताइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘सीमासम्बन्धी गम्भीर प्रश्नमा स्थानीय प्रशासन, राजनीतिक दल र सञ्चारमाध्यम समेतको ठोस अध्ययन र अवधारणको जगमा धारणा सार्जजनिक गर्नु जिम्मेवार र परिपक्व हुने हाम्रो बुझाइ छ ।’

कांग्रेसले बिहीबार साँझसम्ममा स्थलगत टोली हुम्लाको सदरमुकाम फर्किएपछि सीमा मिचिएको ठहर भए चीन सरकारसमक्ष कडा विरोध जनाउँदै संवादको कूटनीतिक प्रक्रियामार्फत समाधानमा पुग्न पनि कांग्रेसले सरकारलाई सचेत गराएको छ ।

हुम्लाको मान्खा गाउँपालिकामा चीनले नेपाली भूमि मिचेर आधुनिक भवन बनाइरहेको खबर सार्वजनिक भएको छ । यसपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी गिरीसहित नेपाली सेना, नेपाल प्रहरी, नाम्खा गाउँपालिकाका अध्यक्षसहितको एक टोली उक्त क्षेत्रमा पुगेको थियो । उक्त टोलीले चीनले सिमा मिचेको वा नमिचेको विषयमा केहि बोलेका छैन ।

प्रकाशित : २०७७ आश्विन ८, बिहीबार १६:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ