सातामा २ दिन विदा दिन प्रस्ताव !


काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हप्तामा दुई दिन विदा दिने प्रस्ताव गरेको छ ।

मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन विदा दिने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्ने बताइएको छ । मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा बिहिबार बसेको उच्च स्तरीय समूहको बैठकले हप्तामा दुई दिन विदा दिने सम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय गरेको हो ।

विदाबारे अध्ययन गर्न पर्यटन मन्त्रालयका सह–सचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदिपकुमार कोईरालाको संयोजकत्वमा पर्यटन विभागकमा प्रमुख रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनन्जय रेग्मी सदस्य रहेको एक समिति समेत गठन गरिएको छ ।

समितिमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिहरुलाई समेत सामेल गरेर अध्ययन प्रस्ताव तयार गर्न लागिएको हो । बैठकले पशुपति मन्दिर, लुम्बिनी, संग्राहालयहरु खोल्ने सम्बन्धमा पनि प्रोटोकल तयार गरी ‘कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’ ९सीसीएमसी० मा पेश गर्ने निर्णय गरेको छ ।

बैठकले, बंगलादेश, इन्डोनेशिया, रसिया, कोरिया फिनल्यान्डसँग भएको हवाई सम्झौताहरु असोजभित्र तयार गरी मन्त्रिपरिषदमा पेश गर्ने निर्णय समेत गरेको छ । त्यस्तै पर्यटन क्षेत्रको पुनरुत्थान कार्यक्रम प्रभावकारी बनाउनका लागि मन्त्रालय, पर्यटन विभाग र नेपाल पर्यटन बोर्ड मिलेर सयुक्त रुपमा कार्यक्रम बनाएर आउँदो बैठकमा पेश गर्ने निर्णय गरेको छ ।

बैठकले हप्ता दिनभित्र हवाई इन्धन मूल्य पुनरवलोकन तथा हवाई भाडा सम्बन्धमा ठोस प्रस्ताव तयार गरी मन्त्रालयमा पेश गर्न हवाई महाशाखा र नेपाल नागरिक उड्डयन प्राधिकरणलाईं निर्देशन दिएको छ ।

मन्त्री भट्टराईले राष्ट्रिय गौरवका आयोजनाको कामलाई प्रभावकारी बनाउन मन्त्रालयका तर्फबाट आवश्यक सहजीकरण अनुगमन, मूल्याङ्कन, निरीक्षण गर्न समेत सम्बन्धित महाशाखा प्रमुखलाई निर्देशन दिएका छन् ।

प्रकाशित : २०७७ आश्विन ८, बिहीबार १७:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ