तत्काल विद्यालय नखोल्न शिक्षामन्त्री पोखरेलको आग्रह


टुडेखोज, काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले तत्काल विद्यालय नखोल्न आग्रह गरेका छन् ।

उनले कोरोनाको जोखिम कायमै रहेको भन्दै केही समय वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन् । शिक्षा पत्रकार समाजले शनिवार आयोजना गरेको ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक भर्चुअल छलफलमा मन्त्री पोखरेलले यस्तो धारणा राखेका छन् ।

‘शिक्षालयमा संक्रमण देखिएमा त्यसलाई नियन्त्रण गर्न कठिन हुन्छ’, मन्त्री पोखरेलले भने, ‘त्यसैले हाललाई सूचना, सञ्चार र प्रविधिको प्रयोगमा आधारित वैकल्पिक प्रणालीमा जोड दिनुपर्छ ।’ न्यूनतम सिकाइको सुनिश्चितका लागि सरकारले आकस्मिक कार्ययोजना ल्याई यही असोजको पहिलो साताबाट कार्यान्वयन शुरु गरिसकेको पनि उनले बताए ।

अब सबै स्थानीय तहका सम्बन्धित विद्यालयमा शिक्षकहरुलाई अनिवार्य पुग्नका लागि निर्देशन गरिएको बताउँदै शिक्षक, अभिभावक र विद्यार्थीको सम्पर्क स्थापितका लागि सामुदायिक विद्यालयमा निःशुल्क र निजी विद्यालयमा सहुलियत रुपमा क्लोज युनिट ग्रुप (सियुजी)मा आबद्ध गराई सञ्चार सहजता बढाइएको जानकारी दिए ।

कतिपय जिल्लाका विद्यालयले अहिले सामाजिक दूरी कायम गरी प्रत्यक्ष सिकाइ पनि आरम्भ गरिसकेका छन् । सञ्चारविद् डा। निर्मलमणि अधिकारीले विपन्न र गरिब विद्यार्थीका लागि निःशुल्क रुपमा उच्चगतिका इन्टरनेट र डाटा उपलब्ध गराउन आग्रह गरे ।

उनले मिडिया साक्षरतालाई प्रभावकारी नबनाइए वैकल्पिक सिकाइ प्रणाली सफल नहुने बताए । सूचना, सञ्चार तथा प्रविधि र आमसञ्चारको सदुपयोगका लागि रणनीति तर्जुमा गर्न उनले सुझाव समेत दिए ।

आसमान नेपालका कार्यकारी निर्देशक नोवलकिशोर यादवले प्रदेश २ मा गरिएको पछिल्लो अध्ययनले ५१ प्रतिशत बालबालिका वैकल्पिक सिकाइको पहुँचमा पाइएकाले सञ्चारमाध्यमको भूमिका बढाएर पहुँच वृद्धि गर्नुपर्ने बताए ।

प्रकाशित : २०७७ आश्विन १०, शनिबार १४:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ