शहिदनगरमा फेरी एक कोरोना संक्रमित पुरुषको ज्यान गयो


जनकपुरधाम : शहिदनगर नगरपालिका १ का ६८ वर्षीय एक पुरुष असोज ९ गते शुक्रबार प्रादेशिक अस्पतालमा भर्ना भए । चिकित्सकलाई ती व्यक्तिले आफूलाई निमोनिया भएको र सास फेर्न समस्या भइरहेको पीडा सुनाए ।

चिकित्सकले उनमा कोरोनाको आशंका गरे । भर्नालगत्तै उपचार सुरु भयो । तर उनको स्वास्थ्य अवस्थामा सुधार आएन । सास फेर्ने समस्याले उनको मृत्यु भयो । अस्पतालले कोरोनाको आशंकामा चिकित्सकले स्वाब संकलन गराए ।

पिसिआर परीक्षण गर्दा उनको कोरोना रिपोर्ट पोजेटिभ आयो । कोरोना रिपोर्ट आउन्जेलसम्म उनको शव अस्पतालकै शवगृहमा राखिएको थियो ।

कोभिड–१९ धनुषा संयोजक डा. जामुन प्रसाद सिंह भन्छन्, ‘उनको रिपोर्ट पोजेटिभ आएपछि श्रीनाथ गणको डेथ बडी मेनेजमेन्ट टिमलाई खबर गर्‍यौं। टोलीले शव बुझेर व्यवस्थापनका लागि लग्यो ।’ उनको शव कहाँ व्यवस्थापन गरियो भन्ने मलाई थाहा भएन,’ डा. सिंहले थपे ।

यसअघि पनि शहिदनगरमा एक व्यापारीको कोरोनाले मृत्यु भएको थियो ।

प्रदेश २ मा कोरोनाले ज्यान गुमाउनेको संख्या १२८ पुगेको छ । धनुषामा हालसम्म शहिदनगरका मृतकसहित १६ जनाको कोरोनाले ज्यान लिएको छ ।

प्रकाशित : २०७७ आश्विन ११, आईतवार १९:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ