जनकपुरधाम उपमहानगरमाथि मुद्दा दायर गर्ने दलित अगुवाहरुको निर्णय


टुडेखोज, जनकपुरधाम : दलित अगुवाहरुले जनकपुरधाम उमपहानगरमाथि मुद्दा दायर गर्ने निर्णय गरेको छ । डोजरले दलित बस्ती भत्काएको भन्दै मुद्दा दायर गर्ने निर्णय दलित अगुवाहरुले गरेका हुन् ।

सोमवार बसेको दलित अगुवाहरुको बैठकले जनकपुरधाम उपमहानगर १ धर्मवान टोलमा दलित वस्तीलाई डोजरले भत्काएको विरोधमा जिल्ला अदालतमा मुद्दा दायर गर्ने निर्णय गरेका छन् । सोको लागि दुईवटा समिति गठन समेत गरिएको छ ।

बैठकमा पाँच सदस्यीय नगरविस्तार संघर्ष समिति गठन समेत गरियो । सो समितिले तीन दिनभित्रमा धर्मवान संघर्ष समिति गठन गर्ने र ती समितिले घर–टहरा भत्काएको परिवारलाई जनकपुरधाम उपमहानगरमा घरका समानहरुसहित धर्ना दिने कार्यक्रम तय गरेको छ ।

नगर विस्तार समितिले उपमहानगरविरुद्ध मुद्दा दायर गर्नुका साथै प्रदेश सरकार तथा जिल्ला प्रशासन कार्यालय मार्फत संघीय सरकारलाई ज्ञापनपत्र समेत बुझाउने दलित अगुवाहरुले जनाएको छ । धर्मवान टोल संघर्ष समितिले भूमिहीनहरुलाई उपमहानगरले व्यवस्थापन नगरेसम्म उपमहानगरभित्र खाना पकाएर खाने, धर्नामा बस्ने र सडक जाम गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा दलित संघर्ष समितिका संयोजक चन्देश्वर दास, अधिवक्ता दीपक विश्वकर्मा, चन्देश्वर सादा, राष्ट्रिय दलित पत्रकार संघका प्रदेश अध्यक्ष कैलास दास, जिल्ला अध्यक्ष कुलदीप दास प्रेमस, महिला अधिकारकर्मी मुन्नी दास, सुनिता राउत, मानव अधिकारकर्मी तथा दलित अगुवा विनोद महरा, राजाराम मण्डल, प्रकाश महरा, रामअशिष दास, रामेश्वर महरा, जितेन्द्र पासमान, मिन रहपाल, दीपनरायण दास, रघुवीर दास, रघुनाथ दास सहित दर्जनौंको संख्यामा दलित अगुवाहरुको सहभागिता रहेको थियो ।

सहभागीहरुले सुकुम्वासी दलितहरुलाई पुर्र्नःव्यवस्थापन गर्नुपर्ने, सभ्य जीवन बाँच्ने वातावरण बनाई दिनुपर्ने, घर जग्गा भएपनि भत्काइएको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने लगायतको माँग आफुहरुको भएको दलित अगुवाहरुले बताएका छन् ।

प्रकाशित : २०७७ आश्विन १३, मंगलवार ११:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ