टुडेखोज, वीरगन्ज : नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रमा मंगलबार जनता समाजवादी पार्टीका साँसदसहितका कार्यकर्ताले धर्ना दिएका छन् ।
प्राधिकरणले लकडाउन अवधिको विद्युत महसुलमा समेत २५ प्रतिशत जरीवना लिएको र अनावश्यक रुपमा विद्युत कटौती गर्न थालेको भन्दै उनीहरु धर्ना बसेका हुन् । विहान १० बजेदेखि दिउँसो १ बजेसम्म प्राधिकरण कार्यालयको मुल गेटमा संघीय साँसद प्रदिप यादव, प्रदेश साँसद मञ्जुर आलम लगायतका नेता कार्यकर्ताहरु धर्ना बसे ।
धर्नामा सहभागीहरुले अनावश्यक लोडसेडिङ अन्त्य गर, लकडाउन अवधिको विद्युत महसुलमा अनावश्यक जरीवना लिन पाईदैन, पार्किङको व्यवस्था गर लगायतको नारा समेत लगाएका छन् । विद्युत प्राधिकरणले लकडाउन खुलेको केही दिनमै २५ प्रतिशत जरीवना लिन थालेको उनीहरुको आरोप छ ।
सर्वोच्च अदालतले लकडाउनलाई जिरो आवर मानेको तर विद्युत प्राधिकरणले लकडाउन खुलेको केही दिनबाटै विद्युत महसुलमा २५ प्रतिशत जरीवना लिएर पर्साबासीलाई अनावश्यक दुःख दिइरहेको सांसद यादवले बताए ।
उनले पैसा बुझाउन एक महिना समय दिनुपर्ने र २५ प्रतिशत जरीवना अर्को बिलमा मिलान गर्नुपर्ने माग समेत गरे । आफुहरुले गरेको माग पुरा नभए प्राधिकरण बिलिङ शाखामा अनिश्चितकालिन तालाबन्दी गर्ने चेतावनी समेत उनले दिए ।
यता, वितरण केन्द्रका प्रमुख शम्भु कुशेत यादवले बिलिङ सिस्टम सेन्ट्रल नै भएकोले आफूले बढी लिने वा कम लिने तथा जरीवना लिन सक्ने अवस्था नरहेको बताए ।
भदौ २३ गतेबाट निषेधाज्ञा खुकुलो भएपछि भदौ २५ गतेदेखि नै विद्युत महसुल काउन्टर सञ्चालनमा ल्याएको, असोज ७ गतेभित्र महसुल बुझाउँदा नियम अनुसार रिवेट दिएको र असोज १५ गतेसम्म महसुल भुक्तानीमा जरीवना नलाग्नुपर्नेमा विलिङ सिस्टममा प्राविधिक त्रुटि हुन गई जरीवना लिइएको उनको भनाई छ ।