कार्तिक १ बाट दशैं सुरु : टिका र घटस्थापनाको साइत सार्वजनिक


टुडेखोज, जनकपुरधाम : नेपाल पञ्चाङ्ग निर्णायक समितिले दसैं टीकालगायतको साइत सार्वजनिक गरेको छ । यो बर्ष कार्तिक १ गते शनिवारबाट दशै शुरु हुँदैछ ।

दसैंको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन् । समितिले घटस्थापनाको साइत कात्तिक १ गते बिहान ११ बजेर ४६ मिनेटमा शुभ रहेको छ ।

यसवर्ष घटस्थापनाका दिन चित्रा नक्षत्र परेकाले दोष नाश गर्ने अभिजित् मुहूर्त दिनुपर्दा ११ बजेर ४६ मिनेटको साइत शुभ हुनेछ । कात्तिक २ गते आइतबार बिहान १० बजेर ५३ मिनेटमा पश्चिम फर्केर झण्डा फेर्ने साइत रहेको छ । विशेषगरी नेपाली सेनाले झण्डा फेर्ने गर्छ ।

यस्तै कात्तिक ५ गते बुधबार पचली भैरव यात्राको साइत छ । कात्तिक ७ गते शुक्रबार फूलपाती छ । फूलपाती भित्र्याउन साइत आवश्यक नपर्ने समितिले जनाएको छ ।

कात्तिक ८ गते शनिबार महाअष्टमी पर्व मनाइन्छ । यस दिन बलिसहित देवीको पूजा आराधना गर्ने चलन छ । तर यसवर्ष धेरै ठाउँमा बलि चढाउन प्रशासनले प्रतिबन्ध लगाएको छ ।

कात्तिक ९ गते आइतबार महानवमी पर्व पनि शक्तिपीठमा पूजा आराधना गरी मनाइन्छ । दसैंको मुख्य दिन कात्तिक १० गते सोमबार विजया दशमी पर्व परेको समितिले जनाएको छ ।

विजया दशमीको दिन बिहान नौ रात १० दिन पूजा गरिएको स्थलमा देवी विसर्जनका लागि बिहान १० बजेर ११ मिनेटको साइत शुभ रहेको छ । टीकाको साइत भने १० बजेर १९ मिनेटमा शुभ मानिएको छ ।

प्रकाशित : २०७७ आश्विन १५, बिहीबार १७:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ