राजधानी दाङ तोक्ने प्रस्तावपछि बुटवलमा आगो बल्यो, सांसदकै गाडी तोडफोड


बुटबल : प्रदेश ५ को राजधानी दाङको देउखुरी तोक्ने प्रस्ताव प्रदेश सभामा पेश भएलगत्तै बुटबलमा आन्दोलन सुरु भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले आन्दोलन सुरु गरेको हो ।शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले बुटवललाई प्रदेशको अस्थायी राजधानी तोकेको थियो । स्थायी राजधानी पनि बुटवल नै हुनुपर्ने मागसहित नेविसंघले सडक तताउन थालेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले शुक्रवार प्रदेश सभामा पेश गरेको प्रस्तावको विरोधमा आन्दोलित नेविसंघले बुटवलमा ३ वटा गाडी समेत तोडफोड गरेको छ ।

आन्दोलनकारीले प्रदेश सभाको सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डे सवार लु १ झ ४४५ नम्बरको स्कोर्पियो र कृषि मन्त्रालय योजना महाशाखाको लु १ झ ४२१ नम्बरको गाडी तोडफोड गरेका हुन् ।

नेविसंघका केन्द्रीय उपाध्यक्ष मुक्ति पौडेलले राजधानी बुटवलबाट सार्न नदिने बताए । उनले कुनैपनि हालतमा प्रदेशको राजधानी बुटवल नै हुनुपर्ने माग समेत गरेका छन् ।

प्रदेशको राजधानी सम्बन्धी प्रस्ताव विवादित भएपनि नामकरणका विषयमा भने खासै विवाद देखिएको छैन । आन्तरिक मामिला मन्त्री केसीले प्रदेशको नाम लुम्बिनी तोक्ने प्रस्ताव पेश गरेका छन् ।

आन्दोलन सुरु भएपछि सम्भावित खतरालाई मध्यनजर गर्दै दिउँसैबाट बुटवलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रकाशित : २०७७ आश्विन १६, शुक्रबार १७:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ