सरकारको रवैयाले राज्य प्रणाली विघटन हुने खतरा : डा. भट्टराई


टुडेखोज, काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारको ध्यान महामारी नियन्त्रणभन्दा चुनाव हारेका व्यक्तिलाई व्यवस्थापन गर्नतर्फ केन्द्रित भएको बताएका छन् ।

आन्दोलित बनेका विभिन्न सञ्चारमाध्यमका पत्रकारहरुलाई शनिबार भेट्दै डा. भट्टराईले निर्वाचन हारेका व्यक्तिको व्यवस्थापनमा समय खेर फालेर सरकारले गैरजिम्मेवार भूमिका निर्वाह गरिरहेको बताए । उनले भने, ‘अहिले कोरोनाका कारण पीडामा रहेका जनताहरुको समस्या समाधान गर्नुपर्ने समय हो । तर सरकार र सत्तारुढ दल चुनाव हारेका व्यक्तिहरुको व्यवस्थापनमा केन्द्रित भएका छन् ।’

जनता समाजवादी पार्टीका बरिष्ट नेतासमेत रहेका पूर्वप्रधानमन्त्री भट्टराईले पार्टी र सर्वोच्च अदालतले समेत आफ्नो समय चुनाव हारेका व्यक्तिको व्यवस्थापनमा खेर फालेको बताए । उनले
महामारीका कारण भोकै मरिरहेका जनतातिर सरकारले ध्यान दिन नसकेको गुनासो गरे । ‘सरकारको यस्तो रवैयाले राज्य प्रणाली विघटन हुने र प्रतिगमनको लहर आउने खतरा समेत रहेको छ’, उनले भने ।

विभिन्न सञ्चारमाध्यममा कार्यरत् पत्रकार कर्मचारीहरु कोभिड १९ को बाहाना देखाउँदै जागिरबाट निकालेको, राज्यले तोकेको सेवा सुविधा नदिएको भन्दै तीन दिनदेखि रिले अनशनमा रहेका छन् । सरकारलाई सचेत गराउन श्रमजीवी पत्रकारले गरेकोजस्तो मेहनत राजनीतिक दलहरुले गर्न नसकेकोमा आफू लज्जित रहेकोसमेत भट्टराईले बताए ।

प्रकाशित : २०७७ आश्विन १७, शनिबार १६:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ