महोत्तरी : बाढीले बगाएका कापर परिवारलाई खाद्यान्न र आर्थिक सहयोग


सिबेन्द्र रोहिता, सुरेन्द्र सिंह

जनकपुरधाम : बाढीले बगाउँदा मृत्यु भएका महोत्तरीको भंगहा नगरपालिका ६ का ४० वर्षीय बिरेन्द्र कापरका परिवारलाई कतारमा बस्दै आएका सत्यप्रकाश चौधरीले खाद्यान्न र नगद सहयोग गरेका छन् ।

कापरको मृत्युपछि परिवार संकटमा परेको समाचार टुडेखोज डटकमले प्रकाशित गरेको थियो । समाचार हेरेपछि माया लागेर कतारमा बस्दै आएका महोत्तरीकै चौधरीले उनलाई सहयोगका लागि ३० हजार नगद पठाएको थियो ।

उक्त रकमबाट १५ हजार बराबरको खाद्यान्न तथा लत्ताकपडा र नगद १५ हजार रुपैयाँ कापरकी पत्नीलाई सोमवार हस्तान्तरण गरिएको छ । कापरकै घरमा पुगेर चौधरीकी छोरी सन्तोषी चौधरी र उनका आफन्तले खाद्यान्न, लत्ताकपडा र नगद हस्तान्तरण गरे ।

सन्तोषीले कापरकी जेठी छोरीलाई पढाउने जिम्मा समेत लिएकी छन् । आफै समक्ष राखेर कापरकी छोरीलाई पढाउने उनले घोषणा गरेकी हुन् । कापरकी जेठी छोरी नागिनाले पनि पढ्ने इच्छा व्यक्त गरेकी छन् । उनलाई स्थानीय तहका जनप्रतिनिधिको रोहबरमा पढाउनका लागि लग्ने सन्तोषीले बताइन् ।

जनकपुरबाट मजुदरी गरेर घर फर्किने क्रममा रातु खोलामा आएको बाढीले गत साउन ६ गते बगाउँदा कापरको मृत्यु भएको थियो । उनको ५ छोरा–छोरी छन् । श्रीमती गर्भवती रहेको अवस्थामा कापरको बाढीले बगाएपछि मृत्यु भयो । त्यसपछि उनका परिवार विचल्लीमा परेका छन् ।

एक महिना अगाडी मात्र मृतक कापरकी पत्नीले जुम्ल्याहा सन्तान (एक छोरा र एक छोरी) जन्माइन् । दुबै बच्चा कुपोषित रहेका छन् । उनलाई तत्कालै उपचारका लागि अस्पताल भर्ना गर्नुपर्ने अवस्था रहेको स्थानीयले जनाएको छ ।

प्रकाशित : २०७७ आश्विन १९, सोमबार १८:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ