प्रदेश ५ : यसरी कायम भयो भालुवाङ राजधानी, काँग्रेसकै ५ साँसद बने गद्दार !


टुडेखोज, बुटवल : प्रदेश ५ को स्थायी राजधानी राप्ती उपत्यकाको भालुवाङ कायम भएको छ । प्रदेशको नाम भने लुम्बिनी कायम भएको छ ।

मङ्गलबार मुख्यमन्त्री शंकर पोखरेलको सम्बोधनपछि भएको मतदानमा सरकारको प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको हो । प्रस्तावको पक्षमा ६९ मत र विपक्षमा १३ मत खस्यो ।

सोमबार नेपाली कांग्रेसका सांसदहरूको अवरोधका बीच भएको छलफल सकिएपछि सभामुख पूर्णबहादुर घर्तीले संशोधन प्रस्तावका लागि १८ घण्टा समय दिएका थिए ।

प्रदेश सरकारको प्रस्तावको पक्षमा नेकपाका सांसदहरू र विपक्षी दल कांग्रेसका केही सांसद र समाजवादी पार्टीका सांसदले मतदान गरेका छन् ।

कांग्रेसका साबिक लुम्बिनी अञ्चलका जिल्लाहरूबाट प्रतिनिधित्व गर्ने सांसदहरूले भने विपक्षमा मतदान गरेको बताइएको छ । राष्ट्रिय जनमोर्चाका एक सांसद मतदानमा सहभागी भएनन् । प्रदेश सभामा जनमोर्चाका एक मात्र सांसद छन् ।

नेपाली कांग्रेस संसदीय दलले प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । कांग्रेसका मुख्य सचेतक सुरेन्द्र हमाल मतदानमा सहभागी नै भएनन् ।

राजधानी दाङको भालुवाङ राख्ने प्रस्ताव प्रदेशसभा वैठकमा पेश गर्न खोज्दा नेपाली काँग्रेसका तीनजना सांसदहले प्रदेशसभामै कुर्सी तोडफोड गरेका थिए । तर मतदान हुँदा उही काँग्रेसका केहि साँसद भालुवाङको पक्षमा मदतान गरे । काँग्रेसले ति साँसदहरुलाई गद्दार भनेका छन् ।

यि हुन् भालुवाङको पक्षमा मतदान गर्ने काँग्रेसका ५ साँसद

– सांसद भुवनेश्वर चौधरी
– सांसद मोहम्मद याकुव अन्सारी
– सांसद शंकर गिरि
– सांसद डिल्ली चौधरी
– सांसद अर्जुन श्रेष्ठ

प्रकाशित : २०७७ आश्विन २०, मंगलवार १७:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ