विदेशमा हात-खुट्टा गुमाएका संजय संकटमा, चमार कल्याण समाजद्वारा सहयोग


राजेश विद्रोही, लहान : सिरहाको गोलबजार नगरपालिका ९ का २६ वर्षीय अपांग संजय मोचीलाई चमार कल्याण समाजले बीसहजार नगद सहयोग गरेको छ ।

गरिबीको कारण संजय कक्षा १० को पढाइलाई अधुरो पारेर २०१५ मा वैदेशिक रोजगारको क्रममा कतारको क्यूबीसी कम्पनीमा लेबरको काममा पुगेका थिए । उनी त्यो कम्पनीमा दुई महिना काम पनि गरे । त्यसपछि काम गर्ने साइडमै बिरामी परे । उनलाई ज्वरोले सतायो । त्यसपछि कम्पनीले उपचारको लागि उनलाई दोहाको अहमद अस्पतालमा भर्ना गरे ।

दुई महिनासम्म अस्पतालको आइसियु कक्षमा राखेर उनको उपचार गरे । संजय भन्छन्, ‘मलाई ज्वरो आयो । कम्पनीले अस्पताल भर्ना गरेर उपचार गरे । दुई महिनापछि मलाई होस पल्टियो । त्यसपछि मेरो आफ्नो हात खुट्टातिर नजर गयो । मेरो हात र खुट्टाको औंला छैन । म अवाक भएँ ।’

उनी घर छोडेर विदेश जाँदा हात खुट्टा राम्रै थियो । तर, घर फर्किदा अहिले उनीसँग भएका हातखुट्टा त छ तर, काम नलाग्ने अवस्थामा । आईसियुमा राखेर उपचार गराउँदा औंलाहरु कुहेर झरेको डाक्टरले भनेको कुरा उनी अहिले पनि सम्झिन्छन् ।

स्वदेश फर्केको लगभग पाँच वर्ष भएको छ । घाउ अझै पनि निको भइसकेको छैन । उनी थप्छन्, ‘गरिबी जीवन छ । कसैले मेरो कृत्रिम हातखुट्टा लगाएर हिंड्ने बनाइदिए म उसलाई भगवान ठान्नेछु । मलाई पहिला जस्तै हिंडडुल गर्ने सपना छ तर ति सारा सपना मनभित्र गुम्सिएर बसेको छु ।’

उनीसँग भएको हात काम गर्ने थियो । अहिले त्यो हात छैन् । उनीसँग हिंडडुल गर्ने खुट्टा थियो । अहिले त्यो खुट्टा छैन् । बुवा आमाका एक्लो छोरा उनी यतिबेला पुरै परिवार उसको दुःखमा झुन्डिएका छन् । पुस्तौंदेखि बसोबास गरेको एलानी जग्गा मात्र छन् परिवारसँग । कम्पनीले फर्किनेबेला तीन लाख दियो । उपचारमै सकियो ।

सरकारले मासिक तीनहजार पाउने अपांगता भत्ता बाहेक थप कुनै पनि सुविधा दिएको छैन् । थप उपचार गर्न परिवारलाई समस्या परेको छ । संजयकी आमा रुन्चीदेवी भन्छिन्, ‘गाउँमा ऋण सापटी पनि कसैले दिदैन । छोराको थप उपचार कसरी गर्नु ? छोराको मुख हेरेर बसेकी छु ।’

विभिन्न देशमा रहेका चमार समुदायका दलित अगुवाहरुले चमार कल्याण समाजद्वारा जम्मा गरेका २० हजार रुपैया आर्थिक सहयोग गरेका छन् । त्यसैमा एउटा बाख्रा पनि सहयोग गरेका छन् । उनको थप उपचार र व्यवस्थाका लागि चमार कल्याण समाजले थप पहल थाल्ने कुरा सुरेन्द्र महराले जानकारी दिए ।

बुधबार विहान उसको घरमै पुगेर सो राहत सहयोग एक कार्यक्रमकासाथ हस्तान्तरण गरेका छन् । कार्यक्रमको प्रमुख अतिथि राजेश विद्रोहीले गरेका थिए भने अध्यक्षता सैनी मोचीले गरेका थिए ।

कार्यक्रममा चमार कल्याण समाजका उपाध्यक्ष उचित महरा, कोषाध्यक्ष सुरेन्द्र महरा त्यस्तै कार्यक्रममा अर्जुन महरा, सतो महरा, जितकुमार महरा, सैनिक महरा, शिवनारायण महरा, निश्चल महरा, संजय साह लगायतको उपस्थितिमा राहत हस्तान्तरण गरिएको छ ।

प्रकाशित : २०७७ आश्विन २३, शुक्रबार ०८:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ