जानकी मेडिकल कलेजको चरम लापरबाही, तलब नदिँदा कर्मचारी आन्दोलित


टुडेखोज, जनकपुरधाम : धनुषाको जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालका कर्मचारी फेरी तलब माग्दै आन्दोलित बनेका छन् । उनीहरु विगत १५ दिनदेखि कलेज परिसरमा धर्नामा बसेका हुन् ।

६ वर्षदेखि बाँकी रहेको सञ्चय कोष, दसैं खर्च, नियमित तलब भत्तालगायत माग राख्दै कर्मचारीहरू धर्नामा बसेका छन् । पटक पटक तलब उपलब्ध गराउन भने पनि कलेजले वास्ता नगर्दा धर्ना बस्नु परेको कर्मचारीहरुले गुनासो गर्छन् ।

यसअघि भदौ १५ मा कर्मचारीले अस्पतालमा तालाबन्दीसमेत गरेका थिए । तलब नदिएसम्म ताला नखोल्ने अडान कर्मचारीले राखेपछि अस्पताल प्रशासनले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरी कार्यालयमै कलेजका तर्फबाट प्रशासन प्रमुख दयानन्द गोइत र कर्मचारीबीच तीन बुँदे सम्झौता भयो ।

सम्झौतामा असोज ४ गतेसम्म कर्मचारी र कलेज दुवै पक्षले लेखापाल राखेर हिसाब निकाल्ने, असोज १ गते तालाबन्दी खोल्ने र असोज ३० गतेसम्म कलेजका अध्यक्ष आएर कर्मचारीको समस्या समाधान गर्ने उल्लेख छ । तर सम्झौता कार्यान्वयण गर्न कलेज तयार भएन । बाध्य भएर कर्मचारीहरु फेरी आन्दोलन थालेका छन् ।

सम्झौता कार्यान्वयण नगरेपछि बाध्य भएर धर्नामा बसेको कर्मचारी आन्दोलन संघर्ष समितिका अध्यक्ष उमेश यादबले बताए । उनले तलब माग्दा उल्टै आफुलाई स्पष्टिकरण सोधेको गुनासो गरे । माग पुरा गर्ने सम्झौता गरेका प्रशासन प्रमुख दयानन्द झाले नै किन आन्दोलन गरेर कलेजलाई समस्यामा परेको भन्दै स्पष्टिकरण सोधेको उनको भनाई छ ।

हरेक वर्ष तलबका लागि यहाँ कर्मचारीहरुले आन्दोलन गर्नु परेको छ । गत वर्षपनि कर्मचारीहरु लामो समय आन्दोलन गर्दा तलब पाएका थिए । कलेजको चरम लापरबाहीका कारण यसवर्ष फेरी कर्मचारी आन्दोलन गर्दा विद्यार्थीहरु समेत समस्यामा परेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित : २०७७ आश्विन २६, सोमबार १५:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ