गोर्खा ब्रुअरीको टुबोर्ग, काल्सबर्ग र सानमिगल बियर सबैभन्दा कमसल


काठमाडौं : गोर्खा ब्रुअरीद्वारा उत्पादित टुबोर्ग, काल्सबर्ग र सानमिगल बियर सबैभन्दा कमसल रहेको पाइएको छ ।

दुबोर्ग, काल्सबर्ग र सानमिगल बियरमा जौको मात्रा ५० प्रतिशतभन्दा कम रहेको भन्दै आन्तरिक राजस्व विभागले १७ प्रतिशतभन्दा धेरै अल्कोहल हुने मदिरासरह नै कर लगाउने निर्णय गरेको छ ।

यसअघि आन्तरिक राजस्व विभागले भन्सार विभागलाई ५० प्रतिशतभन्दा कम जौ प्रयोग गरी उत्पादन भएका बियरको वर्गीकरण गर्न पत्र पठाएको थियो । सोहीअनुसार भन्सार विभागले एकीकृत दरबन्दी वर्गीकरणको भाग २२ को व्यवस्थाअनुसार गोर्खा ब्रुअरीको बियरलाई ‘अन्य’मा वर्गीकरण गरेको छ ।

विभागको ‘अन्य’ संकेतलाई न्यून गुणस्तरको मानिदै आएको छ ।उक्त वर्गीकरण अनुसार नै विभागले आन्तरिक राजस्व कार्यालय नवलपुरलाई पत्र लेखी टुबोर्ग, काल्सबर्ग र सानमिगललाई उच्च दरमा अल्कोहल मिश्रित मदिरासरह अन्तःशुल्क लगाउन निर्देशन दिएको छ ।

विभागका अनुसार बियरमा जौको मात्रा ५० प्रतिशतभन्दा धेरै हुनुपर्ने व्यवस्था छ । त्यसैअनुसार अन्तःशुल्कको दर निर्धारण गरिएको छ । भन्सार विभागले कम्पनीको उत्पादनमा ५० प्रतिशत जौ नरहेको भन्दै अन्य वर्गमा वर्गीकरण गर्न सिफारिस गरिएको छ ।

कार्यालयले गोर्खा ब्रुअरीका उत्पादनमा प्रतिलिटर ४३० रूपैयाँ अन्तःशुल्क लगाएको छ । जौको मात्रा ५० प्रतिशतभन्दा धेरै भएको बियरमा अन्तःशुल्क प्रतिलिटर १६५ रूपैयाँ मात्रै लाग्ने गर्छ ।

कर कार्यालयले अन्तःशुल्क धेरै लाग्ने बताएपछि कम्पनीले ७ दिन उत्पादन नै रोकेर गत आइतबारबाट उत्पादन पुनः सुचारु गरेको छ । हाल कम्पनीले इन्ग्रिडेन्ट्स परिवर्तन गरेर उत्पादन सुरु गरेको जानकारी कर कार्यालयलाई गराएको छ ।

यद्यपि, कम्पनीका उत्पादन हाल बजारमा भने पठाइएको छैन ।

प्रकाशित : २०७७ आश्विन २७, मंगलवार १३:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ