पर्सामा ५० करोडको जग्गा किर्ते गरी ठगी गर्ने जबरा पक्राउ


टुडेखोज, काठमाडौं : करिब ५० करोड मूल्य बराबरको जग्गा किर्ते कागज बनाई विक्री गर्ने एक जना पर्सामा पक्राउ परेका छन् ।

ललितपुर महानगरपालिका १३ कुसुन्तीका ३३ वर्षीय केवलप्रताप जबरा पक्राउ परेका हुन् । उनले वीरगञ्ज महानगरपालिका ५ का कमलादेवी राजभण्डारीको नाममा रहेको घरसहितको ५ कठ्ठा १५ धुर जग्गा किर्ते कागज बनाई विक्री गरेको आरोपमा पक्राउ परेका छन् ।

राजभण्डारीले आफ्नो नागरिकता समेत नक्क्ली बनाई किर्ते कागजातका आधारमा अर्काको जग्गा हाता पारेर तेस्रो व्यक्तिलाई बिक्री गरेको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ ।

व्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले राजभण्डारी नामको नक्कली नागरिकता बनाएर किर्ते गरेको खुलेको जानकारी दिए । उनका अनुसार मालपोत कर्मचारीको समेत मिलेमतोमा जग्गा धनी तथा निजको हकवाला समेतको हक मारी अर्काको जग्गा किर्ते कागजात बनाई गत फागुन १९ गते आफ्नो नाममा पास गरेका थिए ।

उक्त जग्गा पर्साकै गिरधारी लाल अग्रवाललाई बिक्री गरी ५० लाख बैना लिएको खुलेको छ । त्यसपछि घटना बाहिर आएको हो । स्थानीय राजीव राजभण्डारीले लिखत र ठगी सम्बन्धी मुद्दामा जाहेरी दरखास्त दिएपछि व्यूरोले अनुसन्धान थालेको थियो ।

अनुसन्धानका क्रममा केवलप्रताप जबराले आफ्नो नाम मुकेशराज भण्डारी राखेर किर्ते गरेको अनुसन्धानबाट खुलेको छ । उनले जिल्ला प्रशासन कार्यालय ललितपुरबाट किर्ते नागरिकता समेत बनाएका छन् ।

उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको व्यूरोका प्रमुख थापाले जानकारी दिए ।

प्रकाशित : २०७७ आश्विन २७, मंगलवार १४:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ