जनगणनाका लागि ५३ हजार कर्मचारी भर्ना गर्ने तयारी


टुडेखोज, काठमाडौं : जनगणनाका लागि ५२ देखि ५३ हजार कर्मचारी करारमा भर्ना गर्ने तयारी भइरहेको छ ।

केन्द्रीय तथ्यांक विभागले कर्मचारी भर्नाको तयारी थालेको हो । आगामी वर्ष जनगणना गर्ने तयारी अन्तिम चरणका पुगेको छ । विसं २०७८ साल जेठ २५ गतेदेखि असार ८ गतेसम्म जनगणना गर्दैछ ।

विभागका अनुसार जनगणनाका लागि तालिम र आवश्यक तयारी भइरहेको छ । तयारीका लागि मास्टर ट्रेनर, सुपरभाइजर, गणक गरी तीन किसमको जनशक्तिको प्रयोग गरिनेछ ।

विसं २०६८ सालको जनगणनाभन्दा आगामी वर्ष केही फरक ढंगले हुने विभागका सूचना अधिकारी तिर्थराज चौलागाईंले जानकारी दिए । उनका अनुसार पहिला जनगणनामा आठ वर्गका प्रश्न हुन्थे भने यो वर्ष सबै वर्गसँग सम्बन्धित १२ किसिमका प्रश्नसहितको फारम भर्न लगाइनेछ । 

उनले भने, पहिले सहरी क्षेत्र र ग्रामिण क्षेत्र समग्रमा गणना गरिन्थ्यो । यसपालिको जनगणनामा सामुदायिक हिसाबले तथ्यांक संकलन गर्ने तयारी भइरहेको छ ।’

आर्थिक, सामाजिक, शैक्षिक, वातावरणीय लगायत सबै हिसाबले कुन वर्गको मानिस कति छन् भन्ने तथ्यांक नै नरहेकाले यसपालि मिहीन ढंगले तथ्यांक संकलन गर्ने बताइएको छ ।

सामान्यतया नेपालमा प्रत्येक १० वर्षमा जनगणना गरिन्छ । गणना गर्दा हरेक समुदायमै पुगेर सम्पूर्ण विवरण भराएर तथ्यांक राख्ने गरिन्छ । तर, एकीकृत नीति हुने हो भने यसरी ठूलो तयारीका साथ हरेक १० वर्षमा गणना गर्न पुग्नै नपर्ने सरकारी अधिकारीको तर्क छ ।

गणना गर्दा विभागले भर्ना गरेका गणकले हरेक घरमा फाराम लिएर जान्छन् । आर्थिक, सामाजिक, वातावरणीय, राजनीतिक शैक्षिक, स्वास्थ्य, बसोबासलगायत सबै किसिमको तथ्यांक संकलन गरिन्छन् ।

१५ दिनको गणनापश्चात् केन्द्रीय तथ्यांक प्रणालीमा एकीकृत गरिन्छ ।

प्रकाशित : २०७७ आश्विन २९, बिहीबार ०७:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ