जसपाको संघीय परिषद् अध्यक्ष बन्दै डा. भट्टराई !


काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)ले नेता बाबुराम भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने भएको छ ।

आजदेखि पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठक सुरू हुन लागेको छ । उक्त बैठकमा भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाउनेलगायत प्रस्तावमाथि छलफल हुने बताइएको छ ।

जसपाका एक नेताले दिएको जानकारी अनुसार डा. भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाइनेछ । आज र भोलि चल्ने बैठकले यसबारे छलफलपछि निर्णय गर्ने तयारी भएको छ ।

तत्कालीन समाजवादी पार्टी र राजपाबीच एकीकरणपछि भट्टराई जसपामा वरिष्ठ नेताका रूपमा छन् । जसपामा महन्थ ठाकुर र उपेन्द्र यादव दुई अध्यक्ष रहेका छन् । उनीहरू केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष रहने र भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाउने नेताहरु बताउँछन् ।

बैठक तुलसीलाल अमात्य प्रतिष्ठानमा बस्न लागेको छ । पार्टीको विधान संशोधनलगायतका एजेन्डामाथि छलफल गर्न बैठक बोलाइएको छ ।

बैठकमा विधान संशोधन, नियमावली, संघीय परिषद विस्तार, केन्द्रीय समिति विस्तार, कार्यकारिणी समितिको कार्यविभाजन र समायोजनलगायत एजेन्डामाथि छलफल हुन्छ । केन्द्रीय समिति ८०१ र संघीय परिषद एक हजार २०१ सदस्यीय बनाउने बुझिएको छ ।

गत असार २५ गते निर्वाचन आयोगमा जसपा दर्ता भएको थियो । गत वैशाख १० गते समाजवादी र राजपाबीच एकीकरण भएर जसपा पार्टी बनेको थियो। जसपामा वरिष्ठ नेताका रूपमा अशोक राई र राजेन्द्र महतो पनि छन् ।

जसपामा प्रदेशदेखि तल्ला तहमा समेत समायोजनका काम बाँकी छ ।

प्रकाशित : २०७७ कार्तिक ३, सोमबार १०:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ