असई र जवानको हत्या गर्ने सात जनालाई प्रहरीले सार्वजनिक गर्यो


टुडेखोज, कैलाली : धनगढीमा प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका ७ जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा धनगढी उपमहानगर १० का ३१ वर्षीय पंकु भनिने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ को रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल राना रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज रहेका असई गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा उनीहरुको संलग्नता देखिएको छ । उनीहरुले पनि नेपालबाट भारत सामान तस्करी गर्दा प्रहरीले अवरोध सिर्जना गरेपछि आक्रमण गरी हत्या गरेको स्वीकार गरिसकेको कैलाली प्रहरीको दावी छ ।

प्रहरीले अनुसन्धानका लागि १६ जनालाई नियन्त्रणमा लिएको थियो । जसमध्ये आज सार्वजनिक गरिएका ७ जनाको घटनामा संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

गत शनिबार राति नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्जसमेत रहेका बिक र प्रहरी जवान बेपत्ता भएका थिए ।

घाँटीमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको अवस्थामा बिक भेटिएकै मोहना नदी क्षेत्रमा मंगलबार प्रहरी जवान साउदको शव पनि फेला परेको छ ।

प्रकाशित : २०७७ कार्तिक ४, मंगलवार १७:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ