वीरगञ्ज नाका खोल्न कांग्रेसले बुझाए सरकारलाई ज्ञापन-पत्र


वीरगञ्ज : नेपाली कांग्रेसले वीरगञ्ज नाका खोल्न सरकारसँग माग गरेको छ ।

सोमबार पर्साका सिडिओ आशमान तामाङमार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै कांग्रेस पर्सा १ ‘ख’को क्षेत्रीय कार्य समितिले वीरगञ्ज नाका खोल्न माग गरेको हो ।

पर्साको क्षेत्र नम्बर १ ‘ख’ का क्षेत्रीय कार्य समितिका सभापति अरविन्दकुमार गुप्ताले सिडिओ तामाङलाई सोमबार ज्ञापनपत्र बुझाए । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर नेपालको मुख्य प्रवेशद्वारका रुपमा रहेको वीरगञ्ज नाकामा आवगमन सहज बनाउन ज्ञापनपत्र मार्फत माग गरिएको छ ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएका नाका भारतले कात्तिक ६ गतेदेखि एकतर्फी रुपमा खोलिसकेको छ । नेपाल सरकारले भने कात्तिक ३० गतेसम्मका लागि नाका बन्द नै रहने बताएको छ ।

नाका बन्द हुँदा नेपाल भारत बिचको रोटी बेटीको सम्बन्धलाई पनि असर पारेको दाबी कांग्रेसको छ ।

तराई मधेसवासीको प्रमुख चाड दिपावली तथा छठ नजिकै आइरहेको अवस्थामा नाका बन्द हुँदा आवागमन तथा व्यापार व्यवसायमा समेत कठिनाइ परेकोले नाका खोल्नुपर्ने तर्क कांग्रेस क्षेत्रीय कार्य समितिले गरेको छ ।

प्रकाशित : २०७७ कार्तिक १७, सोमबार २०:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ