‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ लेख्न रोक लगाउनु संघीयता विरोधी कदम : मातृका


टुडेखोज, जनकपुरधाम : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य मातृका प्रसाद यादवले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ लेख्न रोक लगाउनु संघीयता विरोधी कदम भएको बताएका छन् ।

मन्त्रिपरिषद बैठकले हालै संघीय लोकतान्त्रिक गणतन्त्रको सट्टा नेपाल मात्र लेख्ने निर्णय गरेको थियो भने कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले नेपाल मात्र लेख्न मातहतका निकायलाई पत्राचार गरेको थियो ।

आज प्रेस बिज्ञप्ति जारी गर्दै नेता यादवले नेपाल मात्रै लेख्नु भनेर पत्राचार गर्नु देश संविधान अनुसार चलाउनुको सट्टा व्यक्तिको इच्छा अनुसार चलाउन खोज्नु भएको बताए । सरकारको निर्णय जनयुद्ध, संयुक्त जनआन्दोलन, मधेश आन्दोलन र शहीदहरुको अपमानका साथै संघीयताविरोधी कदम पनि भएको उनले उल्लेख गरेका छन् ।

‘महान् शहीदहरूको सपना, क्रान्तिकारी पार्टीहरूको प्रतिवद्धता र उत्पीडित वर्ग तथा जनसमुदायको चाहना अनुसार स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पक्षमा उभिन सबै परिवतनकारीसंग हार्दिक अपिल गर्दछु’ यादवले भनेका छन् ।

धनुषा क्षेत्र नम्वर १ बाट निर्वाचित संघीय साँसद समेत रहेका उनले यस्ता निर्णय तुरुन्त सच्याउन सरकारसँग मागसमेत गरेका छन् ।

प्रकाशित : २०७७ कार्तिक १९, बुधबार १४:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ