कक्षा १२ को परीक्षा अनलाइन माध्यमबाट लिन सकिदैन : परीक्षा बोर्ड


टुडेखोज, काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा अनलाइन माध्यमबाट लिन नसक्ने स्पष्ट पारेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अनलाइनबाट परीक्षा गराउन निर्देशन दिएको समाचार आएपनि त्यसमा सत्यता नरहेको बोर्डका अध्यक्ष प्राध्यापक डाक्टर चन्द्रमणि पौडेलले बताए । परीक्षा सञ्चालन कार्यविधिमा अनलाइन प्रविधिबाट परीक्षा गराउने विषय नसमेटिएको उनले स्पष्ट पारे ।

बोर्डले अनलाइनबाट परीक्षा गराउने कुनै सम्भावना पनि नरहेको जनाएको छ । कोरोना संक्रमणका कारण वैशाखमा हुनुपर्ने कक्षा १२ को परीक्षा सञ्चालन हुन सकेको छैन ।

होम सेन्टरमा नै सञ्चालन हुने चार हजार एक सय पाँच परीक्षा केन्द्र रहेका छन् । प्रश्नपत्र छपाई लगायतका परीक्षाको तयारी अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ ।

कक्षा १२ को परीक्षा यही मंसिर ९ गतेबाट सञ्चालन हुँदैछ । सैद्धान्तिकतर्फ ४० प्रतिशतको छोटो परीक्षा, ४० प्रतिशत बराबर कक्षा ११ मा प्राप्त गरेको अंक र बाँकी २० प्रतिशत विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा मान्यता दिने तयारी छ  ।

कक्षा १२ को परीक्षा नहुँदा विश्वविद्यालयहरूमा स्नातक तहको भर्ना र पठनपाठन प्रभावित भएको छ  । कक्षा १२ मा ४ लाख ३२ हजार परीक्षार्थी रहेको बोर्डले जनाएको छ ।

प्रकाशित : २०७७ कार्तिक २४, सोमबार १६:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ