यादवको घरमा डोजर चल्यो, गाउँपालिकाद्वारा अदालतको अवहेलना


बारा : प्रसौनी गाउँपालिकाले उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जले जारी गरेको निषेधाज्ञाको अवहेलना गरेको पाइएको छ ।

प्रसौनी गाउँपालिका ७ बन्जरियाका लक्ष्मीनारायण यादवको कित्ता नम्बर ४८ मा रहेको घरलाई भत्काउन लगाएर गाउँपालिकाले अदालतको अवहेलना गरेको हो ।

सडक विस्तारको क्रममा घर पर्न लागेको भन्दै सडक निर्माण उपभोक्ता समिति र गाउँपालिकाले भत्काउन खोजिएपछि यादवले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा त्यसविरुद्ध मुद्दा दिएका थिए ।

यादवले दिएको मुद्दामा उच्च अदालतका न्यायाधीस रमेशकुमार पोखरेलको इजलासले सुनवाई गर्दै कित्ता नम्बर ४८ मा रहेको घरलाई मंसिर १० गतेसम्म यथास्थितीमा राख्न बिपक्षी समेत बनाइएका प्रसौनी गाउँपालिको नाममा असोज ३० गते अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

उच्च अदालतले जारी गरेको निषेधाज्ञालाई पालना नगरि एक हप्ता पहिला नै प्रसौनी गाउँपालिका अध्यक्ष भोला गुप्ताको निर्देशनमा सडक निर्माण उपभोक्ता समितिका समितिले एस्काभेटर लगाएर घर भत्काएको आरोप लक्ष्मीनाराण यादवले लगाएका छन् ।

सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रद्युमन गुप्ताले गाउँपालिका अध्यक्षको निर्दैशनमा यादवको घर भत्काएको तर्क गरेका छन् ।

गाउँपालिका अध्यक्ष भोला गुप्ताले आफूले अदालतले जारी गरेको निषेधाज्ञाको अवहेलना गरेर यादवको घर भत्काउन नभनेको तर्क गरेका छन् ।

घर रहेको सडकको अर्को छेउ तर्फ सडककै जग्गा खाली छोडिएको र खाली छोडिएको सडकको जग्गालाई  नक्सा अनुसार नापी गराएर खाली गराएर सडक बनाउन भन्दा गाउँपालिका, उपभोक्ता समितिले सार्वजनिक जग्गा छुट्याउनको लागि नापी नगराएर जबरजस्ती घरलाई नै एस्काभेटर लगाएर क्षति बनाइएको आरोप यादवले लगाए ।

अदालतको आदेश समेत नमानेर गाउँपालिका अध्यक्ष र उपभोक्ता समितिले घरविहीन बनाउने कार्य गरेको यादवले दु:खेसो पोखेका छन् । – नागरिकबाट

प्रकाशित : २०७७ मंसिर १, सोमबार १४:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ