औरहीमा १५ बेडको अस्पताल सांसद यादवद्वारा शिलान्यास


धर्मेन्द्र पासवान/ लहान : सिरहाको औरही गाउँपालिकामा १५ बेडको अस्पताल शिलान्यास भएको छ । संघीय सरकारको ‘एक पालिका एक अस्पताल’ कार्यक्रम अन्तर्गत ग्रामिण समुदायको स्वास्थ्य सेवामा सहज पहुँचको लागि अस्पतालको शिलान्यास गरिएको हो ।

अस्पतालको शिलान्यास सिरहा क्षेत्र २ का प्रतिनिधिसभा सदस्य सुरेशचन्द्र दास यादवले गरे । उनले भने- ‘जबसम्म स्वास्थ्य सेवामा सबै नेपालीको सहज हुँदैन, तबसम्म देशवासी छिमेकी मुलुक भारतको अस्पतालहरुमा पुग्न बाध्य हुन्छन् ।’

बढी जनघनत्व भएको दक्षिणी भेगको यो अस्पताल समयमा संचालन गर्न औरही गाउँपालिकालाई अनुरोध होईन्, यस क्षेत्रको प्रतिनिधिसभाको हैसियतले निर्देशन दिन चाहन्छु- सांसद यादवले भने । अस्पतालमा प्रसुती सेवा शल्य चिकित्सक विशेषज्ञको पनि सुविधा हुनुपर्ने उनले बताए ।

‌अस्पताल शिलान्यास कार्यक्रमको अध्यक्षता गरेका औरही गाउँपालिका अध्यक्ष सिद्धार्थ यादवले भने, ‘औरही गाउँपालिकाले यस अस्पतालको भवन दुई वर्षभित्रै सम्पन्न गरी संचालनमा ल्याउने योजना रहेको छ ।’ सर्पदंश उपचार केन्द्र टाढा भएकोले  वर्षेनी यस पालिकामा सर्पदंशको कारणले कुनै न कुनै व्यक्तिको अकालमा ज्यान गुमाउनु पर्ने भएकोले सर्पदंश उपचार केन्द्र पनि संचालन गर्ने योजना रहेको उनले सुनाए । 

उनले भने- प्रत्येक वडामा माध्यमिक विद्यालय स्थापना गर्ने लक्ष्य रहेको छ । मावि औरहीलाई प्राविधिक धारको स्थापना र स्नातक कार्यक्रम संचालन गर्ने योजना पनि छ ।

गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत कमलदेव यादवले भने- औरही गाउँपालिकामा १५ शैयाको अस्पतालको शिलान्याश हुंदा एक दम खुसी भएको छु । यो एक वर्षिय योजना होईन वहुवर्षिय योजना हो । त्यसैले यो अस्पताल समयमा नै संचालन हुनेछ । यस अस्पतालका  परिपुरक र समपुरक यस पालिकाका जनप्रतिनिधि हुन् । कार्यालयको तर्फबाट यो अस्पताल संचालनको लागि म प्रमुख प्रशाकीय अधिकृतको हैसियतले कुनै कसर बाकी राख्ने छैन ।

मन्तव्यकै क्रममा गाउँपालिकाका स्वास्थ्य संयोजक उपेन्द्र यादवले विगतका दिन सम्झदै भने- वि.स. २०४८ सालमा उप-स्वास्थ्य चौकीको रूपमा स्थापना हुँदै २०५३ सालमा  स्वास्थ्य चौकीको स्तरोन्नती गरी प्राथमिक स्वास्थ्य केन्द्र भएको छ । अस्पताल बन्नुमा औरहीको राजनीतिज्ञ पहुँच पहिलेदेखि नै सत्तासङ्ग रहदै आएको छ । फलस्वरूप हामीले १५ शैयाको अस्पताल पायौं ।

समाजसेवी तथा पूर्व शिक्षक श्याम नन्दन यादवले गाउँपालिका माथी  प्रश्न गर्दै भने, ‘प्रदेश सरकारले उपलब्ध गराएको बजेट किन उपयोग भइरहेको छैन ? प्रदेश सरकारको डेढ करोड बजेट गाउँपलिकाले किन खर्च गर्न सकेन । फ्रिज किन भयो ? हामी गाउँपालिकाको विकासको काममा सहकार्य गर्न तयार छौं ।’ प्रदेश सरकारले फेरि पनि मावि औरहीलाइ ५० लाख उपलब्ध गराएको उनले बताए ।  आफुलाइ अझै पनि यो बजेट फ्रिज हुने हो कि भन्ने चिन्ता व्यक्त गरे ।

प्रकाशित : २०७७ मंसिर २६, शुक्रबार १०:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ