एक दिनमै दाहाल-नेपाललाई छाडेर ओलीतिर फर्किए रघुवीर महासेठ


काठमाडौं : नेकपा पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहको बैठकमा सहभागी भएको भोलिपल्टै नेता रघुवीर महासेठ प्रधानमन्त्री केपी शर्मा ओली समूहमा फर्किएका छन् ।

काठमाडौंको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा मंगलबार भएको दाहाल-नेपाल समूहको बैठकमा सहभागी महासेठ बुधबार ओली समूहमा फर्किएका हुन् । हाल तटस्थ बसिरहेका नेकपा उपाध्यक्ष वामदेव गौतमनिकट महासेठकी श्रीमती जुलीकुमारी महतो भने यसअघि नै ओली समूहमा संलग्‍न भइसकेकी छन् ।

एक दिनमै प्रचण्ड-माधव समूहबाट बाहिरिएका महासेठलाई ओली समूहले तत्कालै जिम्मेवारी पनि दिएको छ । महासेठले हिजोको बैठकमा उपस्थित भएर पनि माइन्युटमा हस्ताक्षर गरेका थिएनन् । उनले ओलीलाई हटाउने निर्णय भइसकेपछि मात्रै उक्त बैठकमा सहभागिता जनाएका थिए ।

कार्की पार्टी प्यालेसबाट निस्किएपछि मंगलबारै  महासेठले बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेपछि समुह  परिवर्तन गरेका हुन् । ओली समूहमा फर्किएपछि उनलाई प्रदेश २ को कार्यकर्ता प्रशिक्षणका लागि एकजना वक्ताका रुपमा तोकिएको छ ।

नेकपा औपचारिकरुपमा विभाजित भएपछि पछिल्लो समय नेताहरुले समूह फेर्ने क्रम बढेको छ । माधवनिकट नेता शेरबहादुर तामाङ र राजेन्द्र राईसहित अहिले ओली समूहमा खुलिसकेका छन् ।

फरकधार

प्रकाशित : २०७७ पुष ८, बुधबार १२:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ