चितवनका लागि प्रचण्ड विरोधी एसपी खोज्न हेडक्वार्टरलाई दबाब


उजिर कार्की/ काठमाडौं :

२०७६ पुस ४ गते प्रहरी प्रधान कार्यालयले २४ प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको सूचना निकाल्यो । २२ एसपीले सरुवा भएको ठाउँमा पुगेर काम सुरु गर्दा पनि चितवनबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएका दानबहादुर मल्ल डेग चलेनन् ।

पुष्पकमल दाहाल प्रचण्डको पूर्व पीएसओ (पर्सनल सेक्युरिटी अफिसर) मल्लले त्यही आडमा आफ्नै नेतृत्वको निर्देशन अटेर गरे । हेडक्वार्टरको पुनः निर्देशनपछि मात्रै उनी सरुवा भएको स्थान विमानस्थल आउन तयार भए । उता एसपी गंगा पन्त भने चाहेर पनि सरुवा भएको स्थान चितवनमा जान पाइनन् ।

कारण थियो, उनलाई प्रचण्डले नरुचाउनु । त्यसैले पन्तलाई पछि काजमा पर्सा सरुवा गरेर नान्तिराज गुरुङलाई चितवन पठाइएको थियो । त्यतिबेला प्रहरीभित्र प्रचण्डको राम्रै प्रभाव थियो । त्यतिबेला पर्साबाट काठमाडौं सरुवा भएका सोमेन्द्रसिंह राठौर फेरि मकवानपुर प्रहरी प्रमुखमा सरुवा भएका छन् । पर्सा प्रमुख भएकी पन्त केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) आइन् ।

हालका प्रहरी महानिरीक्षक शैलेश थापाले भन्ने गरेका छन्, ‘संगठनका सरुवा बढुवामा बाहिरबाट दवाव दिन पाइने छैन ।’ उनले आफ्नो कार्ययोजनामा पनि यस्तो उल्लेख गरेका थिए । तर काम भने कार्ययोजनाभन्दा ठिक उल्टो गरिरहेको हालको सरुवाले देखाउँछ । मंगलबार प्रहरी महानिरीक्षकले ३० एसपीलाई सरुवा गरेका छन् । झापामा प्रधानमन्त्री केपी ओलीका पूर्व पीएसओ सानुराम भट्टराईलाई सरुवा गरिएको छ ।

२०७५ जेठमा एसपीमा बढुवा भएका भट्टराई त्यसअघि ओलीका पीएसओ थिए। यो दुई वर्षको बीचमा दुई जिल्लाको इन्चार्ज पाउनुमा भट्टराईलाई ओलीकै आशीर्वाद छ । यसअघि बारा जिल्लाको प्रमुख भएका भट्टराई हाल अख्तियारमा कार्यरत थिए । झापामा कार्यरत कृष्णप्रसाद कोइरालालाई महानगरीय अपराध महाशाखामा सरुवा गरिएको छ ।

ओलीका पूर्वपीएसओले पुनः जिल्ला इन्चार्ज पाउँदा प्रचण्डका पूर्वपीएसओ दानबहादुर मल्ल भने विमानस्थलमै थन्किएका छन् । उनीसँगै सरुवा भएका एसपीहरुले जिल्ला इन्चार्ज पाइसकेका छन् ।दानबहादुर मल्लको मात्रै सरुवा रोकिएको होइन । यसपटकको सरुवामा प्रचण्डको गृह जिल्ला चितवन नै छुटेको छ । सँगै सरुवा गरिएका अन्य जिल्लाका प्रहरी प्रमुख परिवर्तन भएका छन् ।

प्रचण्डले चाहेको पात्र खोजिने चितवनमा यसपटक उनले नचाहेको पात्र हेरिने हेडक्वार्टर श्रोत बताउँछ । जसका कारण सरुवा हुन नसकेको हो ।

श्रोतका अनुसार चितवनमा कसलाई पठाउने भन्ने विषयमा हेडक्वार्टर उचित पात्र खोजिरहेको छ । चितवन जान केही अधिकृतले जोडबल गरिरहेका थिए । तर हेडक्वार्टरलाई यतिबेला चितवनमा पठाउने प्रहरी प्रचण्डको ‘एन्टी’ हुनुपर्ने दबाब रहेको श्रोतले बतायो । यसपटकको सरुवामा प्रधानमन्त्रीनिकट नेता, उच्च प्रहरी अधिकारीसँगै, आईजीपी थापा र एआईजी निरज शाहीको बोलवाला चलेको छ ।

सिरहा प्रमुखबाट सात महिनापहिले मात्रै सीआईबी आएका उमाप्रसाद चतुरवेदी पनि कन्चनपुर प्रहरी प्रमुखमा सरुवा भएका छन् । तर एक वर्ष बढी हुँदा पनि ईश्वर कार्की र रेवती ढकालको भने सरुवा हुन सकेको छैन ।

सरुवा बढुवामा शक्ति केन्द्र धाए कारबाही गर्ने चेतावनी दिएका आईजीपी थापा आफैं शक्ति केन्द्रको दबाबमा अपारदर्शी काममा संलग्न रहेको प्रहरीहरुको गुनासो छ । प्रहरी महानिरीक्षक थापाले मंगलबार ६९ डीएसपी र ३० एसपीको सरुवा गरेका थिए । जसमा विवादित प्रहरीलाई आकर्षक स्थान दिएको गुनासो छ ।

नेपाल खबर

प्रकाशित : २०७७ पुष २२, बुधबार २३:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ