मधेसमा अझै केही दिन घाम नलाग्ने, सतर्कता अपनाउन अनुरोध


काठमाडौं : दक्षिण-पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव शुक्रबार रातिदेखि नेपालबाट हटेको मौसमविद्ले बताएका छन् । तर बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव यथावत् रहेका कारण मधेसमा अझै केही दिन घाम लाग्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।


दिनभर आकाशमा बादल लाग्ने गरेकाले केही दिनयता देशैभर चिसो बढेको छ । ‘अबर सागरको प्रणालीको प्रभाव हट्दैमा मौसममा त्यति ठूलो फरक त आउँदैन,’ मौसमविद् नगरकोटीले शनिबार बिहान भनिन्, ‘किनकि स्थानीय वायुका कारण पनि मौसम बदली त भइरहन्छ । तर पनि अब सुदूरपश्चिमका मधेस क्षेत्रमा बादल लाग्ने क्रम घट्न सक्छ ।’

उनका अनुसार अहिले विशेषगरी मधेसमा घाम लाग्न सकेको छैन । अहिले बिहान पनि त्यहाँ बाक्लो हुस्सु/कुहिरो लागेको छ । ‘पहाडी भेगमा पनि कुनै-कुनै ठाउँमा घाम लागेको छैन, तर मधेसमा जत्तिकै घामै नलाग्ने अवस्था छैन,’ उनले भनिन्, ‘काठमाडौंमा हिजो घाम लागेको थियो भने आज पनि लाग्ने सम्भावना छ ।’

माैसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६  बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
जारी गर्दै भनेकाे छ- देशको विभिन्न भूभागमा  तापक्रममा हल्का गिरावट आउनाका साथै तराईका धेरै भूभागमा बिहानको समयमा बाक्लो हुस्सु/कुहिरोसमेत लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ ।

प्रकाशित : २०७७ माघ ३, शनिबार ०७:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ