नेकपाको कुनै समूहलाई आधिकारिता दिएकाे छैनौं : निर्वाचन आयोग


काठमाडौं : निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कुनै पनि समूहलाई आधिकारिकता प्रदान नगरेको स्पष्ट गरेको छ ।

आजै निर्वाचन आयोग पुगेका प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता सुवास नेम्वाङले भने आयोगले नेकपाको आधिकारिकताको टुंगो लगाइसकेको र आफूहरु त्यसैअनुसार अघि बढ्ने बताएका थिए । उनले आफूहरु नै आधिकारिक भएको आफ्नो दाबी रहेको बताएका थिए ।

‘सुवास नेम्वाङले के बोल्नु भयो मलाई थाहा हुने कुरा भएन । कसैले दावी प्रस्तुत गर्दैन भने तँ आधिकारिक होस् भनेर बाटो बाटो भन्दै हिड्दैन नि,’ निर्वाचन आयोगका आयुक्त ईश्वर पौडेलले भने, ‘त्यसैले आधिकारिकताको विषयमा आयोगले केही पनि निर्णय गरेको छैन ।’

संसद विघटनसँग विभाजित नेकपाको प्रचण्ड–माधव समूहले बहुमत केन्द्रीय सदस्यको बैठक राखेर केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई चयन गरेको छ । ओली समूहले भने २०७८ मंसिरमा महाधिवेशन गर्ने गरी केन्द्रीय कमिटी विस्तार गर्दै विवरण अध्यावधिक गर्न निर्वाचन आयोगलाई पत्राचार गरेको थियो ।

तर ११ माघमा बसेको निर्वाचन आयोगको बैठकले दुवै समूहको दाबी अस्वीकार गर्‍यो । यससँगै कानुनीरुपमा नेकपाको अध्यक्ष ओली र प्रचण्ड रहे भने केन्द्रीय कमिटी ४४१ सदस्यीय नै कायम भयो । यो निर्णयसँगै ओली समूहका नेताहरुले आयोगले ओलीलाई प्रमुख पदाधिकारी मानेकाले आफूहरु आधिकारिक भएको दाबी गरेका थिए । तर आयोगले शुक्रबार दुवै समूहलाई छलफलमा बोलायो । तर प्रचण्ड–माधव समूहले अध्यक्षद्धय राजनीतिक कार्यक्रमका क्रममा उपत्यका बाहिर रहेको भन्दै केही दिन समय दिन आग्रह गरेको छ ।

निर्वाचन आयुक्त ईश्वरी पौडेलका अनुसार ओली समूहका नेताहरु चिया गफ मात्र भएको छ । उनका अनुसार आयोगले छिट्टै दुवै पक्षसँग संयुक्त छलफल गर्नेछ । दुवै पक्ष राजनीतिक दलसबन्धी ऐनको दफा ५१ अनुसार अभिलेखिकरण गरिदिनु भनेर आएकाले आयोगले त्यसलाई अस्वीकार मात्र गरेको उनले बताए । ‘दुवै पक्षले आधिकातिा हौं भनेर आउँदै नआएको अवस्थामा आयोगले पार्टी फुटाउँदै हिड्ने कुरा भएन’ उनले भने ।

यदि कुनै समूह आधिकारिक हौं भनेर दाबी गर्न आएको अवस्थामा प्रचलित कानून, विधान र संविधानले के भन्छ भनेर छलफल गरेर आयोग निर्णयमा पुग्ने उनले बताए । दफा ४४ (१) अनुसार ३० दिने हदम्याद सकियो होला नि भन्ने प्रश्नमा उनले भने, विवाद कहिले सुरु भयो भनेर हामी तोक्दैन । विवाद यो हो भनेर उहाँहरु कसरी आउनुहुन्छ, त्यसपछि कानुनी सल्लाहकारहरुसँग परामर्श गर्छौं ।’

प्रकाशित : २०७७ माघ १६, शुक्रबार १७:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ