सर्लाहीको सिमा क्षेत्रमा भारतीय सहयोगमा सडक कालोपत्रे


सलंगवा : र्लाही जिल्ला अन्तर्गत भारतीय सिमाको लक्ष्मीपुर बलाराबाट गढैयासम्म भारत सरकारको ४ करोड ४४ लाख ८० हजार रुपैयाँ सहयोगमा निर्मित कालोपत्रे सडकको उद्घाटन भएको छ ।

वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत नितेश कुमार तथा रौतहट चन्द्रनिगाहापुरस्थित डिभिजन सडक विभाग प्रमुख विनोद कुमार मौवरले संयुक्त रुपमा सडक उद्घाटन गरे । भारत सरकारको ‘नेपाल भारत विकास सहकार्य’ अन्तर्गतको सहयोगबाट कालोपत्रे सडक निमार्ण भएको भारतीय राजदूतावासका प्रवक्ता नविन कुमारले जानकारी दिए ।

यस अन्तर्गत साढे चार किलोमिटर लामो भारतीय सिमा लक्ष्मीपुर–बलरा– मिर्जापुर र करिब डेढ किलोमिटर लामो मिर्जापुर–गडहिया सडक/हुलाकी सडक निर्माण सम्पन्न भएको हो ।  यो परियोजना नेपाल र भारत सरकारबीच भएको समझौता अन्तर्गत सामुदायिक विकास परियोजनाको रुपमा लिइएको थियो ।

सडक निमार्णका लागि भारतीय दुतावास,काठमाडौं र भौतिक पुर्वाधार विकास तथा यातायात मन्त्रालय अन्तर्गत जनकपुर सडक विभाग, डिभिजन सडक विभाग मुजेलिया बीच सम्झौता भएको थियो ।

हालमा उक्त परियोजना चन्द्रनिगाहपुर सडक विभाग अन्तर्गत रहेको छ । ‘भर्खरै कालोपत्रे गरिएको भारत नेपाल सिमा जोडने सडकले दैनिक यात्रा गर्ने यात्रुहरुको आवागमन सहज गर्ने आशा गरिएको छ’ भारतीय दूतावासले भनेको छ ।

प्रकाशित : २०७७ माघ २४, शनिबार १०:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ