वन्यजन्तु जोगाउन पर्सा निकुञ्जका सडकमै सेना परिचालन


सिमरा : पर्सा राष्ट्रिय निकुञ्जले सडक दुर्घटनाबाट वन्यजन्तु बचाउन ‘गति सीमित’ लेखिएको प्लेकार्डसहित निकुञ्जसँग जोडिएको सडक खण्डमा सेना परिचालन गरेको छ।

३ साताअघि पथलैयामा सडकखण्डमा भएको सवारी दुर्घटनामा एक पयस्क पाटे पोथी बाघको मृत्यु भएपछि निकुञ्जलेपथलैया-अम्लेखगञ्ज र पथलैया-निजगढ (तामागढी) सडक खण्डमा सेना परिचालन गरेको हो ।

निकुञ्ज संरक्षणका लागि बसेको नेपाली सेनाको सिद्धबक्स गढसँगको समन्वयमा निकुञ्ज प्रशासनले सेनाको २ वटा समूह बनाएर बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सेनालाई सडकमा खटाएको हो ।

पर्सा राष्ट्रिय निकुञ्जमा सहायक प्रमुख संरक्षण अधिकृत तथा सूचना अधिकारी रमेश कुमार यादवले निकुञ्जसँग जोडिएको हाइवे खण्डमा सेनाको २ वटा समूह परिचालन गरिएको बताए । ‘३ साताअघि सडक दुर्घटनामा बयस्क पाटे बाघको मृत्यु भएको भोलिपल्ट देखि हामीले यो कार्यक्रम सञ्चालन गरेका हौं, अब अर्को व्यवस्था नभएसम्म निकुञ्ज क्षेत्रभित्र पर्ने सडखण्डमा सेनाको २ वटा समूह खट्छ,’ यादवले भने ।

वीरगञ्‍ज भन्सार र औधोगिक करिडोरबाट छुटेका मालवाहक तथा यात्रुवाहक सवारी साधन अत्याधिक गतिमा गुड्दा वर्षेनी दर्जनौं वन्यजन्तुले पथलैया–अम्लेखगञ्ज सडकखण्डमा अकालमा ज्यान गुमाएका छन् ।

पर्सा राष्ट्रिय निकुञ्जको तथ्याकं अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म २ वटा दुर्लभसहित ७ वटा जनावरको सडकमै ज्यान गएको छ । यो तथ्यांक विगतका वर्षहरूमा झनै डरलाग्दो देखिएको छ ।

थाहा खबर

प्रकाशित : २०७७ माघ २५, आईतवार १७:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ