शिक्षकको कुटाइबाट १४ वर्षीय बालकको मृत्यु


काठमाडौं : झापाको एक विद्यालयमा अध्ययनरत बालकको मृत्यु भएपछि विद्यालय विवादमा तानिएको छ । शिक्षकको कुटाइबाट ती बालकको मृत्यु भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ ।

कनकाई नगरपालिका ६ स्थित चम्पापुर माध्यमिक विद्यालयमा अध्ययनरत १० वर्षीय कृष्णप्रसाद राजवंशीको बिहीबार उपचारका क्रममा मृत्यु भएको हो। उनी कक्षा ४ मा अध्ययनरत थिए। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

राजवंशीको मृत्युपछि विद्यालयको कार्यालय सहायक (खरिदार) पदमा कार्यरत रविन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मगरले कक्षा ४ मा पठनपाठन गराउने क्रममा सोधेको कुरा नजानेको भन्दै गत माघ१८ गते राजवंशीलाई कुटपिट गरेका थिए ।

शिक्षकको कुटाइबाट विद्यार्थीको कान सुन्निएपछि उपचारका लागि तत्काल स्थानीय कामेश मेडिकल लगिएको थियो । मेडिकलमा सामान्य उपचारपछि उनलाई घर पठाइएको थियो । घर पुगेपछि पनि बालकले आफूलाई शिक्षकले कुटेको कुरा अभिभावकसँग बताएनन् ।

तर, घरमा कान झनै सुन्निन थालेपछि आफन्तले बारुलाले टोकेको होला भनेर बालकका साथीसँग सोधपुछ गरेका थिए । त्यसपछि राजवंशीका साथीले उनलाई शिक्षकले कान मोलेर यस्तो भएको बताएका थिए ।

बालकको स्वास्थ्य अवस्था झनै बिग्रिँदै गएपछि थप उपचारका लागि तत्काल बिर्ता सिटी हस्पिटल लगिएको थियो । तर, त्यहाँ पनि उपचार सम्भव नभएपछि बी एन्ड सी पुर्‍याइएको जानकारी विद्यालयका एक शिक्षकले जानकारी दिए ।

त्यहाँ पनि उपचार सम्भव नभएको भन्दै बिहीबार विराटनगरस्थित नोबेल मेडिकल कलेज पठाइएको थियो । तर, अस्पताल पुर्‍याएर उपचार सुरु गरेलगत्तै विद्यार्थीको मृत्यु भयो ।

प्रकाशित : २०७७ माघ ३०, शुक्रबार ०७:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ