१०० वर्षपछि पण्डित नरेन्द्रनाथको ‘श्रीमद्भागवत गीता’ पुनः प्रकाशन


काठमाडौं : श्रीमद्भागवत गीताको पहिलो नेपाली पद्यानुवाद १०० वर्षपछि पुनः प्रकाशन भएको छ । पण्डित नरेन्द्रनाथ रिमालले वि.सं. १९७६ मा प्रकाशन गरेका ‘श्रीमद्भागवत गीता’ पुस्तक नरेन्द्र वाङेमय निधिले हालै पुनः प्रकाशन गरेका हुन् ।

संस्कृतिविद् सत्यमोहन जोशीले सोमबार ललितपुरस्थित आफ्नै निवासमा पुस्तक विमोचन गरे। जोशीले १०० वर्षअघिका स्रष्टा कवि पण्डित नरेन्द्रनाथ लामो समयसम्म ओझेलमा पर्नु दुःखको कुरा भएको बताए। उनले हिमवत्खण्डको संस्कृति हराउँदै जान थालेको भन्दै जगेर्ना गर्न सबै सचेत हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले विश्वकै महानतम् ग्रन्थलाई सरल भाषामा अनुवाद गरेर कवि नरेन्द्रनाथले नेपालीलाई ठूलो गुन लगाएको बताए ।

कविपुत्र तथा नरेन्द्र वाङ्मय निधिका संरक्षक डा. रामरत्न उपाध्यायले पिताको देहान्तपछि उनका कृति चोरी भएको र त्यसलाई आफ्नो बनाउन लामो समय संघर्ष गर्नुपरेको सम्झना गरे । निधिका अध्यक्ष डा. भूपहरि पौडेलले नेपाली साहित्य इतिहासकारले समेत कवि नरेन्द्रनाथ र उनका कृतिलाई ओझेलमा पारेको बताए ।

१९७६ मा वनासरबाट प्रकाशित भएको कवि पण्डित नरेन्द्रनाथको श्रीमद्भागवतगीताको पहिलो संस्करणको एकप्रति मदन पुस्तकालयमा सुरक्षित रहेको बताइन्छ । निधिले कवि नरेन्द्रनाथद्वारा रचित नेपाली भाषाको अठार पर्व महाभारत २०५८ सालमा प्रकाशन गरेकोे थियो ।

प्रकाशित : २०७७ फाल्गुन ४, मंगलवार १०:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ