प्रतिक्रियावादी र अवसरवादविरुद्ध फेरि एकपटक क्रान्ति गर्छु : प्रचण्ड


काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादी र अवसरवादविरुद्ध फेरि एकपटक क्रान्ति गर्ने बताएका छन् ।

पेरिसडाँडामा आयोजित नयाँ नमुना स्वास्थ्यकर्मी संघको कार्यक्रमलाई विहीबार सम्बोधन गर्दै उनले एउटा ‘व्याटल’ जितेको भएपनि अझै वार नजितेको बताए । ’एकचोटी फेरि कोर्स करेक्सन गरेर प्रतिक्रियावादी र अवसरवादविरुद्ध लड्नुपर्छ- प्रचण्डले भने, ‘म छोड्नेवाला छैन । माओत्सेतुङले ७२ वर्षमा सांस्कृतिक क्रान्ति गरेका थिए, म एकचोटी फेरि क्रान्तिमा जानेवाला छु ।’

संसद विघटन, संघीय लोकतान्त्रिक गणतन्त्र खारेज गर्ने विरुद्धको देशव्यापी व्याटल जिते पनि वार जित्न बाँकी रहेको उनको भनाइ छ । उनले अझै त्यसविरुद्ध ठूला ठूला षड्यन्त्र भइरहेको बताए ।

‘हामीले त्यो षड्यन्त्रविरुद्ध अब आफ्नो खट्टामा उभिएर लड्नुपर्छ। आफ्नै साथीहरु छुट्दा हामी अलिक कमजोर भएजस्तो देखिएको हो’ उनले भने, ‘अब आफ्नो क्रान्तिकारी साथीहरुलाई जोडेर एक हुने अभियानमा लागेको छु।’

उनले अब दुई चार बर्ष जनताको बीचमा जाने लक्ष्य लिएको बताए । ‘फेरि जनतासँग जोडिने, फेरि देशव्यापी अभियान चलाउनेतिर सोचिराखेको छु । काठमाडौंभन्दा अभियानमा बढी बस्ने बिचार छ,’ उनले भने, ‘फेरी दुई/चार वर्ष जनताका बीचमा गएर क्रान्तिलाई सफल पार्नुछ ।’

प्रकाशित : २०७७ फाल्गुन २७, बिहीबार १६:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ