बसको ठक्करबाट महिलाको मृत्यु : लम्की तानावग्रस्त, प्रहरीद्वारा हवाइफायर


कैलाली : कैलालीमा बसको ठक्करबाट पैदल यात्री महिलाको ज्यान गएपछि अहिले लम्की तनावग्रस्त बनेको छ । मृतकका आफन्त र स्थानीयले पूर्व–पश्चिम राजमार्गको लम्की सडक खण्ड अवरुद्ध पार्नुका साथै ईलाका प्रहरी कार्यालय घेराउ गरेका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिकाको लम्की चोकमा टीकापुरतर्फ जाँदै गरेको ना ६ ख ८८३३ नम्बरको बसले ठक्कर दिँदा पैदल यात्री स्थानीय २२ बर्षीया कमला देवकोटाको ज्यान गएको हो । मृतकको शव ईलाका प्रहरी कार्यालय लम्कीको गेटमा राखेर आफन्त र स्थानीयले प्रदर्शन गरिरहेका छन् ।

आक्रोशित आफन्त र स्थानीयले ईलाका प्रहरी कार्यालयभित्र पसेर तोडफोड गर्नुका साथै ड्यूटीमा रहेका प्रहरीमाथि हातपात गर्न खोजेपछि प्रहरीले अश्रुग्याँस र हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिएका छन् ।

प्रदर्शनकारीले लम्की चोकमा रहेको प्रहरी बिट जलाउनुका साथ ईलाका प्रहरी कार्यालयमै पसेर प्रहरीलाई लतार्दै लैजान थालेपछि हवाइ फायर गर्नुपरेको प्रहरी निरीक्षक थापाले बताएका छन् ।

प्रदर्शनकारीले प्रहार गरेको ढुङ्गाले लागेर सशस्त्र प्रहरीका डिएसपी र केही प्रहरी घाइते भएको थापाले बताएका छन् । सो सडक खण्ड भएर चल्ने सम्पूर्ण सवारी साधनहरू अवरुद्ध भएको छ ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : २०७७ चैत्र १०, मंगलवार १२:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ