प्रदेश २ : नेपाल पक्षले महतोलाई बनायो एमालेका संसदीय दलको नेता, मण्डल हटाइए


सन्तोष यादव, जनकपुरधाम । नेकपा एमालेको माधव नेपाल पक्षले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाएर शत्रुधन महतोलाई चयन गरेको छ ।

आइइतबार जनकपुरस्थित प्रदेशसभा परिसरमा रहेको संसदीय दलको कार्यालयमा बैठक बसेर नेपाल पक्षका सांसदहरुको महतोलाई नेता चयन गरेका हुन् । मण्डल एमालेको संस्थापन पक्षका हुन् ।

यस्तै बैठकले रवीन्द्र बैठालाई उपनेता, सुन्दर विश्वकर्मालाई प्रमुख सचेतक र बेची लुङ्गेलीलाई सचेतकमा चयन गरेको छ ।

६ महिनापछि भोलि बस्न लागेको प्रदेशसभा बैठकअघि नेपाल पक्षले संसदीय दलका नेता, उपनेता, प्रमुख सचेतक र सचेतक गरेको हो ।

प्रदेश २ मा नेकपा एमालेका २१ सांसद छन् । जसमध्ये १३ सांसद नेपाल पक्षमा लागेका छन् ।

सभामुखलाई पत्र

त्यस्तै महतोलाई संसदीय दलका नेता चयन गरिएको पत्र सभामुख सरोज कुमार यादवलाई बुझाएको सांसद प्रमोद यादवले जानकारी दिए । उनका अनुसार भोलिको प्रदेशसभा बैठकमा नेकपा एमालेको संसदीय दलका नेताको भूमिका महतोले निर्वाह गर्ने छन् ।

माओवादी केन्द्र र नेकपा एमाले एकिकरण भएपछि पनि संसदीय दलका नेता मण्डल नै चयन भएका थिए ।

तर नेकपामा विवाद भएपछि माधव नेपाल र प्रचण्ड एक ठाउँमा उभिएको बेला महतोलाई संसदीय दलको नेता चयन गरिएको थियो ।

  • नेपाल प्रेस डटकमबाट साभार
प्रकाशित : २०७७ चैत्र २९, आईतवार १६:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ