वीरगञ्ज पुनः कोरोनाको ‘हट स्पट’ बन्दै, प्रदेश २ मा जताततै लापरबाही


जनकपुरधाम । प्रदेश २ को वीरगञ्ज शहर पुनः कोरोनाको ‘हट स्पट’ बन्न लागेको छ । पछिल्लो २४ घण्टामा बुधवार दिउँसो ३ बजेसम्म ९० जनामा कोरोना पुष्टि भयो । संक्रमित ६६ जना वीरगञ्ज र ९ जना वीरगञ्ज बाहिर पर्साका विभिन्न स्थानका छन् ।

हाल प्रदेश २ मा ६५९ जना सक्रिय केश छन् । जसमध्ये धेरैजना पर्साकै छन् । पर्साका ४१ संक्रमित होम आइसोलेशनमा र २३ संक्रमित संस्थागत आइसोलेशनमा रहेको निर्देशनालयका बरिष्ट चिकित्सक डा. कमलेश यादवले जनाए ।

प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म पर्सामा ५६ जनाको कोरोनाबाट ज्यान गइसकेको छ । बुधवार दिउँसो वीरगञ्जमा एक कोरोना संक्रमितको मृत्यू पनि भयो, जुन निर्देशनालयको रिपोर्टमा समावेश छैन । नारायणी अस्पतालमा उपचाररत सर्लाहीको मलंगवा ३ का ४२ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

वीरगञ्ज कोरोनाको ‘हट स्पट’ बन्न लाग्दा स्थानीय प्रशासन चिन्तित बनेको छ । यद्दपी स्थानीय स्वास्थ्य सतर्कता अपनाइरहेको पाइएको छैन । सरकारले तोकेको मापदण्ड पुरा गराउन स्थानीय प्रशासनले कडाइ गरेको छ । वीरगञ्जमा मास्क नलगाउनेलाई जरिवाना गर्न प्रहरी बाध्य बनेको छ । वीरगञ्जमा भीडभाड नरोकिए अवस्था भयावह हुने आँकलन स्वास्थ्य विज्ञहरुको छ ।

प्रदेश २ को पर्सासँगै बाराको कलैया, धनुषाको जनकपुरधाम र सप्तरीको राजविराज क्षेत्र कोरोनाको जोखिममा रहेको छ । सरकारले यो शहरका विद्यालय बन्द गर्न, भीडभाड नगर्न, मास्क अनिवार्य प्रयोग गर्न लगायतका निर्देशन जारी गरेको छ । यद्दपी सर्वसधारण स्वास्थ्य मापदण्ड पालना गरेको देखिदैन् । बसमा क्षमताभन्दा बढी यात्रु नचढाउन र यात्रुलाई अनिवार्य मास्क प्रयोग गर्न भनिएको छ । तर बसमा यात्रुहरु पनि मास्क प्रयोग गरिरहेका छैन् ।

वीरगञ्जबाट देशभर सार्वजनिक यातायातका साधन गुड्छ । प्रदेश २ को सबभन्दा बढी जोखिममा रहेका वीरगञ्जबाट देशको विभिन्न ठाउँ पुग्ने सवारी साधनले पनि स्वास्थ्य मापदण्ड पालना नगर्दा अन्य ठाउँमा पनि संक्रमण फैलिने जोखिम बढेको छ ।

भारतमा अब दैनिक २ देखि ३ लाखसम्म कोरोना संक्रमित भेटिन थालेका छन् । तर भारतबाट अहिले पनि निर्वाध रुपमा सर्वसधारण नेपाल भित्रिदा पनि उनीहरुलाई क्वारेन्टाइनमा राख्ने गरिएको छैन । अधिकांश सिमा नाकामा हेल्थ डेस्क समेत नरहेको अवस्थामा सिमावर्ती जिल्लाहरुमा कोरोना संक्रमणको उच्च जोखिममा छ ।

खुल्ला सिमा नाकाका कारण खटेको प्रहरीले पनि आवतजावत रोक्न असफल बनेको छ । नाकामा मात्र नभएर जताततै देखिएको लापरबाहीले प्रदेश २ मा कोरोनाले भयावह रुप लिने सम्भावना बढ्दै गएको चिकित्सकहरुको भनाई छ । अहिले कोरोना पुष्टि भएका व्यक्तिलाई पनि आइसोलेशन सेन्टरमा नराख्ने गरेका कारण समाजमा कोरोना तीब्र गतिमा फैलिने देखिएको छ ।

प्रकाशित : २०७८ बैशाख ९, बिहीबार १०:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ