जनकपुरमा ४ सय आइसोलेशन बेड सञ्चालनको तयारी


जनकपुर : कोरोनाको संक्रमणको नियन्त्रण, रोकथाम र प्रभावकारी ढंगको उपचारको लागि जनकपुरधाममा ४ सय आइसोलेशन बेड सञ्चालनको तयारी गरिएको छ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति धनुषाको आयोजना आज बसेको बैठकले कोरोनाको संक्रमण रोकथाम तथा प्रभावकारी उपचारका लागि प्रादेशिक अस्पतालसहित जनकपुरधाममा भित्रका शिक्षण कलेज तथा निजी अस्पतालमा गरी चार सय आइसोलेशन बेड छुट्टाउने निर्णय गरिएको छ।

प्रादेशिक अस्पताल तथा मेडिकल कलेजका सञ्चालक एवं निजी अस्पतालका सञ्चालकहरूको सहितको उपस्थितिमा बसेको बैठकमा उक्त संख्यामा आइसोलेशन बेड तयारी गर्ने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी एवं समितिका अध्यक्ष बन्दुप्रसाद बास्तोलाले जानकारी दिए।

प्रजिअ बास्तोलाले जनकपुरधामको प्रादेशिक अस्पतालको नर्सिंङ कलेजमा अघिल्लो पटक सञ्चालन गरिएको कोरोना विशेष अस्पताल आजैदेखि सञ्चालनमा आएको जानकारीसमेत दिए। उनले अक्सिजन पाइपसहित ५२ शैयाको कोरोना विशेष अस्पताल प्रादेशिक अस्पतालले सञ्चालनमा ल्याएको जनाए।

यसैगरी जनकपुरधामको जानकी मेडिकल कलेज एवं शिक्षण अस्पतालमा २ सय बेडको कोरोना डेडिकेटेड अस्पताल बनाउने निर्णय बैठकबाट भएको छ। यसका लागि कलेज सञ्चालक सहमत भएको प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताए।

निजी अस्पतालहरूको संगठनले कोरोनाका उपचारका लागि आवश्यक बेड उपलब्ध गराउने विषयमा सहमति जनाएको छ। संगठनले जनकपुरधामको काव्या अस्पतालमा कोरोनाका बिरामीका लागि बेड छुट्ट्याउने प्रतिबद्धता गरेका छन्।

सबै निजी अस्पताल तथा नर्सिंङ होममा गरी करिब १ सय बेड कोरोनाका बिरामीलाई उपचारका लागि छुट्टाउने प्रतिबद्धता निजी अस्पताल एसोसिएसनबाट आएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला संकट व्यवस्थापन समितिका अध्यक्ष बन्धुप्रसाद बास्तोलाले जनाए।

प्रकाशित : २०७८ बैशाख १३, सोमबार १०:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ