प्रदेश २ : कर्मचारीमा कोरोना लागेपछि प्रदेशसभा बैठक स्थगित


जनकपुरधाम । सचिवालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आज बस्ने भनिएको प्रदेश २ को प्रदेशसभा बैठक स्थगित भएको छ ।

प्रदेशसभा सचिवालयले सूचना जारी गरेर मंगलवार बिहान ११ बजे बस्ने भनिएको प्रदेशसभाको बैठक अर्को सूचना नहुन्जेलसम्म स्थगित गरिएको जनाएको छ । तीन कर्मचारीमा कोरोना पुष्टि भएपछि बैठक स्थगित गर्नुपरेको सचिवालयका एक अधिकारीले जानकारी दिए ।

झण्डै ६ महिनापछि पाँचौं अधिवेशन गत चैत ३० गते सुरु भएको थियो । त्यसपछि प्रदेशसभा सचिवालयले प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्नेबारे प्रस्ताव आह्वान गरेको थियो ।

वैशाख १० गते बसेको प्रदेशसभा बैठकमा राजधानीका विषयमा दर्ता भएको प्रस्तावमाथि छलफल भयो । आज बस्ने भनिएको बैठकमा प्रदेशको नामाकरण विषयमा छलफलको कार्यसूची थियो ।

तर बैठक स्थगित भएपछि प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने प्रक्रिया लम्बिने भएको छ ।

प्रकाशित : २०७८ बैशाख १४, मंगलवार ०९:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ