रौतहटमा आइसोलेशन बेड र अक्सिजन अभाव


राकेश यादव, रौतहट : रौतहटमा कोभिड–१९ को दोस्रो भेरिएन्टको संक्रमण तीब्र देखिएपनि आइसोलेशन बेडको अझै व्यवस्था हुन सकेका छैन् ।

कोरोनका सिकिस्त विरामीको उपचारको लागि आइसोलेशनको आवश्यकता पर्छ । तर आइसोलेन बेड अभाव हुँदा समस्या सृजना भएको छ । दिन प्रतिदिन संक्रमित थपिदै जादा रौतहटको अवस्था संकटमा पर्ने देखिन्छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले एक हप्ता पहिले नै स्थानीय तहमा क्वारेन्टाइन बनाउनु पर्ने, पूर्ण सुविधासहितको आइसोलेशन सेन्टर व्यवस्थापन गर्नुपर्ने गरेको निर्णय अहिलेसम्म कार्यान्वयन हुन सकेका छैन । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अगामी आइतवारसम्म आइसोलेशन सेन्टर संचालनमा आउन सकिने बताए ।

कोरोना भाइरसको पहिलो चरणमा स्थानीय तहका प्रतिनिधिहरुले खेलेको भूमिका दोस्रो लहरमा न्यून देखिएको छ । गतवर्ष आइसोलेशन संचालन गर्न भएको खर्चको भुक्तानी तिर्न बाँकी नै रहेको प्रमुख जिल्ला अधिकारी यादवले बताए । गत वर्षको भुक्तानी दिन ३७ लाख बाँकी रहेकोले यसवर्ष बजेटको अभावले आइसोलेशन सेन्टर सञ्चालन नभएको उनको भनाई छ ।

कोभिड–१९ को संक्रमण न्यूनिकरणका लागि स्थानीय तहले जिम्मेवारी लिन नचाहेको प्रजिअ यादवले बताए । उनले भने, ‘आइसोलेशन संचालन गराउन जिम्मेवारी लिन कोहि अघि बढिरहेको छैन । बजेटको अभाव रहेको छ । आइसोलेशन सेन्टर सञ्चालन गर्न तथा भेन्टिलेटर, आक्सिजन, बस्नेखाने व्यवस्था, चिकित्सकको व्यवस्थ ागर्न र औषधि खरिद गर्न बजेटको अभाव छ ।’

गतवर्ष स्थानीय तहहरुले ५ लाखका दरले रकम व्यवस्थापन गर्न भनिए पनि ७ वटा स्थानीय तह र निर्वाचित संघीय सांसद एवं प्रदेश सांसदले रकम नदिँदा भएको खर्चको भुक्तानी भएन । यसवर्ष पनि स्थानीय तहले रकम व्यवस्थापन गर्ने सामुहिक प्रतिवद्धता जनाएको तर ढिलाइ गरिरहेको प्रमुख जिल्ला अधिकारी यादव बताउँछन् ।

रौतहटमा ३५ वटा आक्सिजनको सिलिन्डर उपलव्ध भएको जानकारी दिदै प्रमुख जिल्ला अधिकारी यादवले जिल्लाको विभिन्न पालिकाहरुमा भएको प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीहरुबाट अक्सिजनको विवरण लिने कार्य जारी रहेको बताए । संक्रमितहरुलाई स्थानीय जनप्रतिनिधिहरुको निगरानीमा होमआइसुलेशनमा बस्ने व्यवस्था गरिएको उनले बताए ।

सरकारले निर्धारण गरेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्नेगरी संक्रमितहरुलाई होम क्वारेंटाइनमा बस्ने व्यवस्था मिलाइएको जिल्ला कोभिड संकट व्यवस्थापन समितिका प्रमुख समेत रहेका प्रमुख जिल्ला अधिकारी यादवले बताए ।

बुधवार जिल्ला अस्पताल गौरमा गरिएको २८ जनाको स्वाव परिक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको छ । योसंगै रौतहटमा संक्रमितको संख्या ११५ पुगेको हो ।

प्रकाशित : २०७८ बैशाख १६, बिहीबार ०८:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ