सरकार जोगाउन मुख्यमंत्री पृथ्वीसुब्बाले बनाए दीपक मनाङेलाई मन्त्री


पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक विकास मन्त्रालय फुटाएर दीपक मनाङेलाई मन्त्री बनाएका छन् । मुख्यमन्त्री गुरुङले सामाजिक विकास मन्त्रालय फुटाएर मनाङेलाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका हुन् ।

यसअघि प्रदेश सरकारले युवा तथा खेलकुदसम्बन्धी योजना तथा कार्यक्रम सामाजिक विकास मन्त्रालयमार्फत् गर्दै आएको थियो । प्रदेशको सामाजिक विकास मन्त्री नरदेवी पुन छिन् ।

नवनियुक्त मन्त्री मनाङेलाई केहीबेरमा सपथ खुवाउने कार्यक्रम छ। युवा तथा खेलकुद मन्त्रालय थपिएसँगै गण्डकी प्रदेशमा मन्त्रीको ८ पुगेको छ । यसअघि मुख्यमन्त्रीसहित गण्डकीमा सात सदस्यीय मन्त्रिपरिषद थियो ।

आफूविरूद्ध अविश्वास प्रस्ताव आइरहेका बेला मुख्यमन्त्री गुरूङले मन्त्रिपरिषद विस्तार गरेका हुन् । बुधबार सांसद गुरूङ प्रदेश सभा बैठकमा पनि सहभागी भएका थिएनन् ।

मुख्यमन्त्री गुरूङविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा सांसदले अविश्वास प्रस्ताव ल्याएका छन् । उक्त प्रस्तावमा जनमोर्चाले मतदान गर्ने बताएको थियो । तर जनमोर्चा सांसद खिमविक्रम शाही बुधबार प्रदेश सभा बैठकमै उपस्थित भएनन् ।

सभामुखले अनिश्चितकालका लागि प्रदेश सभा बैठक स्थगित गरेका थिए ।

मनाङे आपराधिक पृष्ठभूमिका हुन् । उनी सांसद चुनिनुभन्दा अघि डिल्लीबजार कारागारमा थिए ।गुण्डा नाइके चक्रे मिलनको ज्यानसम्बन्धी मुद्दामा मनाङेलाई प्रहरीले पक्राउ गरेको थियो ।

होटल हायातमा ग्याङ वार हुँदा मिलनको हात मनाङे समूहले छिनालिदिएको थियो । सो घटनामा मनाङे प्रतिवादी थिए । – सेतोपाटी

प्रकाशित : २०७८ बैशाख १६, बिहीबार १७:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ