सिरहा अस्पतालमा भेन्टिलेटर प्रयोग विहिन, राज्यमन्त्रीले भने- छिटो सञ्चालनमा आउनुपर्छ


सिरहा : कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपनि सिरहा अस्पतालले खरिद गरेको भेन्टिलेटर अझै सञ्चालनमा आउन सकेका छैन । दक्ष जनशक्तिको अभावले भेन्टिलेटर सञ्चालनमा नआएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. नागेन्द्र यादवले जानकारी दिए ।

उनका अनुसार भेन्टिलेटर सञ्चालनका लागि सम्बन्धित निकायसँग पटक पटक जनशक्ति माग गरेपनि पठाएको छैन । अहिले ४ भेन्टिलेटर प्रयोग विहिन अवस्थामा छ । भेन्टिलेटरको आवश्यकता पर्ने कोभिड विरामीलाई अन्यत्र पठाउनु परेको छ ।

सोमवार प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीले सिरहा अस्पतालको निरीक्षण गरे । उनले पनि सामाजिक सञ्जालमा लेखेका छन्, ‘ एचडियु १५ बेड र आइसियु ५ बेड र ४ भेन्टिलेटर उपलब्ध छ । तर जनशक्ति अभावको कारण भेन्टिलेटर संचालनमा आएको छैन ।’ उनले भेन्टिलेटर सञ्चालन गर्ने दक्ष जनशक्ति तुरुन्त उपलब्ध गराउन आवश्यक रहेको पनि उल्लेख गरेका छन् ।

सिरहा अस्पतालले आफै अक्सिजन प्लान्ट जडान गरेको छ । अक्सिजनको लागि बाहिरको भर पर्नु पर्दैन । आफ्नै पिसिआर टेष्ट ल्याव छ । ८ घण्टामा ९६ जनाको रिपोर्ट दिन सक्षम छ । छुट्टै कोभिड ब्लक स्थापना गरिएको छ । तर विडम्बना भेन्टिलेटर अभावमा विरामीलाई अझै रेफर गर्नुपर्ने बाध्यता रहेको छ ।

राज्यमन्त्री मण्डलले सिरहा अस्पतालको निरीक्षण पश्चात अध्यक्ष शैलेन्द्र ठाकुर र मेसु डा. नागेन्द्र यादवको कुशल व्यवस्थापन सन्तोषजनक रहेको प्रतिक्रिया पनि दिएका छन् ।

प्रकाशित : २०७८ जेष्ठ ४, मंगलवार ०८:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ