एसईई परीक्षा आन्तरिक मूल्यांकनबाटै गर्ने सरकारको निर्णय


काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) गत वर्षझैँ आन्तरिक मूल्याङ्कनबाट हुने भएको छ । सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् यसपालि पनि परीक्षा आन्तरिक मूल्याङ्कनबाटै गर्ने शिक्षा मन्त्रालयको प्रस्तावलाई स्वीकृत गरेको हो ।

अब विद्यालयहरुले गरेको आन्तरिक मूल्याङ्कनका विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्नेछ । विवरणका आधारमा परीक्षा बोर्डले परीक्षाफल तयार पारेर सार्वजनिक गर्नेछ ।

गत वर्ष विद्यालयका प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मूल्याङ्कन समिति गठन गरी पहिलो त्रैमासिक अवधिको मूल्याङ्कन १० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मूल्याङ्कन ३० प्रतिशत र तेस्रो त्रैमासिक अवधिको ६० प्रतिशत अङ्कका आधारमा मूल्याङ्कन गरेको थियो ।

मल अभाव हुन नदिने : यस्तै बैठकले रासयनिक मल अभाव हुन नदिन यस वर्ष भारतसँग सरकारी स्तरबाटै मल खरिदको प्रक्रिया अघि बढाइने भएको छ । बैठकमा भारतसँग जी टु जी सम्झौताबाट नेपाललाई आवश्यक मल ल्याउने प्रक्रिया अघि बढाउने प्रस्ताव गएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्ला वर्षमा जस्तो किसानबाट मल अभावको गुनासो आउन नहुने बताएका छन् ।

प्रकाशित : २०७८ जेष्ठ १८, मंगलवार ०८:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ