ओली कमजोर भएपछि महन्थ र महतो आपतमा, जसपा उपेन्द्रको कब्जामा


काठमाडौं : पार्टीभित्र चुलिएको मतभेदकै कारण जनता समाजवादी पार्टी (जसपा) विभाजनको अन्तिम तयारीमा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु सुरक्षित हुन एक पक्षलाई प्रयोग गर्दा अर्को पक्ष विपक्षीमा उभिएको छ । जसले एक भएर जाने सम्भावना टुट्दै गएको छ ।

विघटित संसद्को चौथो ठुलो दल जनता समाजवादी पार्टी (जसपा)को दुई खुट्टा दुई डुङगामा छ । पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो एक डुङगा लिएर सरकारमा छन् भने अर्को डुङगामा सवार अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई त्यहीँ सरकार ढाल्न लागिपरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको २५ सदस्यीय मन्त्रीमण्डलमा ११ जनासहितको जम्बो टोली लिएर सरकारमा सामेल भएको ठाकुर –महतो पक्ष सरकारमा र अर्को पक्ष सरकार बाहिर बसेर विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन लागिपर्दा उनीहरुको आफ्नै घर भत्किने हेक्का गरेका छैनन् । बरु पार्टी नै फोडेर अघि बढ्न मनसायमा देखिन्छन् ।

पार्टीभित्र अल्पमतमा रहेको ठाकुर–महतो पक्षले बहुमत जुटाएर पार्टीको वैधानिकता कब्जा गर्न खोजेको छ । आफु नै आधिकारिक भएको बताउँदै आएको यो पक्षले उपेन्द्र यादव पक्षलाई चित्त नबुझे चोईटियर जानसक्ने बाटो खुल्ला गरेको छ । पार्टीभित्र मतभेद चुलिएर जाँदा दुवै पक्षले एकले अर्कालाई निष्कासन र निषेध गर्दै अघि बढेका छन् । यादव पक्षले ठाकुर र महतोसहित चार नेतालाई पार्टीबाट निष्कासन गरिसकेको छ । ओली सरकारमा सामेल थप मन्त्रीलाई पनि केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर निष्कासन गर्ने यो पक्षको तयारी छ ।

उता पार्टीमा पहिलो अध्यक्ष आफु भएको भन्दै ठाकुर पक्षले अर्का अध्यक्ष यादवलाई निष्कासन गरेको छ । महतोको नेतृत्वमा पूर्वराजपा धार ओली नेतृत्वको सरकारमा सामेल भएपछि यादव पक्षले प्रदेश २ बाट पूर्वराजपा धारका मन्त्रीलाई हटाएका छ । कानुनी रुपमा जसपाको छाताभित्र रहेका दुबै पक्षले फरक पार्टीको अभ्यासलाई अघि बढाएका छन् ।

ठाकुर पक्षले चित्त नबुझे पार्टी छोडेर जानसक्ने चुनौति दिएका बेला उपेन्द्र यादव पक्ष पार्टीका केही अनुशासनहिन व्यक्तिलाई कारबाही गरिएको भन्दै जसपा एक रहेको दाबी गर्दै आएको छ । जसपाको अधिकार सम्पन्न केन्द्रीय कार्यकारिणी समितिमा तत्कालीन राजपाबाट २६ र समाजवादीबाट २५ सदस्य भागबन्डाका आधारमा राखिएका थियो । पूर्वराजपा धारका रेशम चौधरी जेलमा भएकाले २५/२५ सदस्य थियो । तर ठाकुर पक्षले ओलीसरकारलाई समर्थन गरेपछि यो पक्षका ६ सदस्य यादव समुहमा गएका छन् । यादवतिरका दुई सदस्य ठाकुरको कित्तामा आएका छन् ।

वैधानिकतालाई लिएर निर्वाचन आयोगमा लडिरहेका जसपाका दुबै पक्षको मुद्धा छिनोफानोमा आयोगले समेत अनावश्यक विलम्ब गरेको छ । यसमा पनि प्रधानमन्त्री ओली नै हाबी भएर संसद् पुनःस्थापनापछि बहुमत पु-याउने प्रयोजनमा लागिपरेको अड्कल भइरहेका छन् ।तर समग्र घटनाक्रम र नेताहरुको अभिव्यक्तिले रातारात कुनै पर्लय हुने परिस्थितिबाहेक जसपा एक हुने सम्भावना समाप्त भएको देखिन्छ ।
योहो खबर

प्रकाशित : २०७८ जेष्ठ ३०, आईतवार १०:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ