प्रदेश २ सहितका नदीमा बाढी आउने ! सतर्कता अपनाउन अपिल


काठमाडौं : नेपालमा मनसुन भित्रिएर लगातार बर्षा सुरु भएसँगै मुलुकभर बाढी र पहिरोको जोखिम बढेको छ । बिभिन्न नदीहरुमा बाढी आउन सक्ने भन्दै सतर्क रहन जल तथा मौसम पुर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

लगातारको बर्षापछि कन्काई, कोशी, बागमती, नारायणी, कर्णाली र महाकाली नदी तथा सहायक नदीहरुमा बाढी आउने भन्दै महाशाखाले आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो । महाशाखाले आज बुलेटिन जारी गर्दै यी सहित प्रदेश २ का पनि केही नदीहरुमा पानीको बहाव उच्च हुने भन्दै सतर्क रहन भनेको हो ।

लगातार केही दिन बर्षा जारी नै रहने भएकाले नदी आसपासका वस्तीहरुलाई तुरुन्त अयन्त्र सार्न पनि महाशाखाले अनुरोध गरेको छ । आजबाट नदीहरुमा पानीको बहाव बढ्ने तथा आकस्मिक बाढी आउने सम्भावना समेत रहेको महाशाखाले उल्लेख गरेको छ ।

राप्ती, तिनाउ, बबई र गण्डकीमा भने उच्च जोखिम रहेको महाशाखाको बुलेटिनमा बताईएको छ । बर्षाका कारण बाढीसँगै पहिरोको जोखिम पनि बढेकाले पहाडी क्षेत्रमा पनि सतर्कता अपनाउन अनुरोध गरेको छ । नेपालमा यसपटक गतबर्ष भन्दा छिट्टै मनसुन भित्रिएसँगै देशैभर बर्षा सुरु भएको छ ।

महाशाखाले यो बर्ष देशभर औषतभन्दा बढी बर्षा हुने जनाएको छ । नेपालमा सामान्यतया मनसुनको सिजनमा १५ सय मिलिमिटर हाराहारीमा बर्षा हुने गरेको छ ।

प्रकाशित : २०७८ जेष्ठ ३१, सोमबार १४:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ