मेलम्ची आयोजनाका २३ मजदुर अझै बेपत्ता, ४७ जनाको उद्धार


काठमाडौं : अविरल वर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बुमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको क्याम्प बगाएको ेछ । क्याम्पसमा रहेका २३ मजदुर अझै बेपत्ता छन् भने अलपत्र परेका ४७ जनाको उद्धार गरिएको छ ।

हेलम्बु गाउँपालिका १ आम्बाथानमा रहेको आयोजनाको मुहान नजिकैको क्याम्प बाढीले बगाउँदा अलपत्र ४७ जना मजदुरलाई नेपाली सेना तथा निजी कम्पनीको हेलिकप्टरबाट उद्धार गरी धुलिखेल अस्पतालमा राखिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए ।

उनले भने, ‘हेलिकप्टरले ३÷४ खेप गरी कामदारहरुलाई उद्धार गरेर धुलिखेल अस्पतालमा राखिएको छ । उनीहरु घाइते थिए थिएनन् भन्ने खुल्न सकेको छैन । अब उद्धार गर्नुपर्ने कति छन् अझै जानकारी आइसकेको छैन ।’

मंगलबार राति आएको बाढीले कामदारहरु बसेको क्याम्प बगाएको थियो । केही कामदारहरु भागेर ज्यान जोगाउन सफल भए भने अन्य सम्पर्कविहीन छन् । बेपत्ताहरुको खोजी भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुगे पनि हालसम्म सुरुङ भने सुरक्षित रहेको बताइएको छ । मुहानभन्दा माथि बाढी आएपछि सुुरुङको गेट बन्द गरिएकाले क्षति हुन पाएन । तर हेर्डवक्सको सरंचनाहरु भने डुबानमा परेका छन् ।

मेलम्चीमा आएको बाढीले हालसम्म ७ जनाले ज्यान गुमाइसकेका छन् । चनौटे, तिम्बु तारामाराङ तथा मेलम्ची बजारमा बाढी पसेको छ । बाढीले दर्जनौं पुलहरु बगाएको छ ।

प्रकाशित : २०७८ असार २, बुधबार १५:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ