‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण’ कार्यक्रम रोकियो


हेटौंडा : बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन हुन सकेको छैन ।

नसर्ने रोगको रोकथाम र नियन्त्रणको लागि प्रदेश सरकारले सञ्चालन गर्दै आएको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम यसवर्ष कोरोना भाइरसको महामारीले गर्दा सञ्चालन हुन नसकेको हो । नसर्ने रोगको परीक्षण गर्न जाँदा कोरोना भाइरस सर्न सक्ने सम्भावना रहेकाले मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्न नसकिएको प्रदेश सरकारले जनाएको छ ।

बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता पुरुषोत्तम सेढाँईको अनुसार प्रदेश सरकारले चालु आर्थिक वर्षमा मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमको लागि एक करोड रुपैयाँ विनियोजन गरेको थियो । तर कोरोना संक्रमणको जोखिम बढेपछि कार्यक्रम सञ्चालन नगरेको प्रदेश सरकारले सो बजेट कोरोना रोकथाममा खर्चेको सेढाँईले बताए ।

आर्थिक वर्ष २०७५/०७६ देखि नै प्रदेश सरकारले आफ्नो गौरवको कार्यक्रमको रुपमा मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमलाई राख्दै आएको छ। जसअन्तर्गत हालसम्म प्रदेशको करिव १७ हजार जनाले स्वास्थ्य परीक्षण गराइसकेका छन्। कार्यक्रम सुरु भएको पहिलो वर्षमा ९ हजार र दोस्रो वर्षमा ८ हजार जनाले सेवा लिएको भएपनि तेस्रो वर्षमा कोरोनाले गर्दा कार्यक्रम रोकिएको छ।

चालु आर्थिक वर्षमा रोकिएको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमलाई आगामी आर्थिक वर्षमा बढाएर ल्याएको उनले बताए । मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमलाई नसर्ने रोगको रोकथाम, नियन्त्रण र उपचारमा केन्द्रित गरी सञ्चालन गर्न २२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्रकाशित : २०७८ असार १९, शनिबार १७:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ