कमला पुलको पिलर ३७ मिटर तल हुनुपर्थ्यो, तर १७ मिटरको मात्र बनाएपछि भासियो : पूर्वमन्त्री झा


जनकपुरधाम : पूर्वमन्त्री रामचन्द्र झाले गलत डिजाइनकै कारण सिरहा–धनुषा जोड्ने हुलाकी सडक अन्तर्गतको कमला पुल भासिएको बताएका छन् ।

पुल भासिएपछि अवलोकन गर्न पुगेका नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका उनले भने, ‘एक त डिजाइन नै गलत थियो । डिजाइनअनुसार काम पनि भएन । त्यसैले पुल भासियो । मैले त शिलान्याशका बेला नै डिजाइन सच्याउन भनेको थिएँ ।’

पूर्वपश्चिम राजमार्गमा रहेको कमला पुल करिब ८ सय मिटरको छ । हुलाकी सडकसम्म आउँदा थप चार नदी मिलेपछि नदी फराकिलो बनेको छ । तर ७ सय मिटर मात्र पुल बनाउने डिजाइन भएको थियो । उनले भने– कम्तिमा एक हजार मिटरको पुल बन्नुपर्थ्यो ।

उनका अनुसार पिलरको गहिराई ३७ मिटर हुनुपर्ने स्टमेटमा उल्लेख छ । तर मात्र १७ मिटर गहिराइमा पिलर खडा गरियो । यसमा ठूलो रकमको चलखेल भएको शंका गरिएको छ । मन्त्री, नेता र तत्कालीन डिई अर्जुन यादवको मिलोमतोमा पप्पु कन्ट्रक्सनले गुणस्तरहीन काम गरेको उनको आरोप छ ।

‘पुलको डिजाइन सच्याउन सोहीबेला जनकपुरस्थित मुजेलियामा रहेको यातायात कार्यालय घेराउसम्म भएको थियो’, उनले भने, ‘तर हाम्रो कुरा कसैले सुनेन । परिणामतः पुल भासियो ।’

पुल भासिएको विषयमा छानविन गरी दोषीमाथि काराही गर्नुपर्ने सिरहा– धनुषाका सो क्षेत्रका बासिन्दाको पनि माग छ । पुलका १२ पिलरमध्ये दुईवटा भासिएको छ । बिहीवार एउटा पिलर मात्र भासिएको थियो । तर शुक्रबार अर्को पिलर पनि भासिएको छ ।

४२ महिनामा निर्माण गर्नेगरी पप्पु–लुम्बिनी जेभीले पुलको ठेक्का लिएको थियो । तर ७ वर्षमा पप्पुले पिलर मात्रै ठड्यायो । पछि घाटा लाग्ने भन्दै काम नै छाड्यो । त्यसपछिको काम लुम्बिनी बिल्डर्सले गरेको हो ।

प्रकाशित : २०७८ असार २०, आईतवार १५:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ