ठाकुर पक्षले माफी मागेपछि मात्र एकता हुने जसपा उपेन्द्र पक्षको निष्कर्ष


काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले महन्थ ठाकुरले जनतामा माफी मागेपछि मात्र एकता हुने निष्कर्ष निकालेको छ ।

मंगलबार बसेको यादव पक्षको संसदीय दलको बैठकले ठाकुर पक्षले जनतासँग माफी मागे मात्रै एकता सम्भव हुने निष्कर्ष निकालेको हो । पुस ५ मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि जसपा आन्दोलित भएको थियो । जसको चर्को विरोध महन्थ ठाकुर र राजेन्द्र महतोले गरेका थिए ।

दोस्रो पटक विघटन गर्दा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएपछि पार्टीमा तीव्र अन्तरविरोध सुरु भएको थियो । सोही अन्तरविरोधले पार्टी विभाजित हुँदै आधिकारिकताका लागि निर्वाचन आयोगसम्म पुगेका छन् ।

यसैबीच यादव पक्षको संसदीय दलले विधान पारित गरेको छ । सो विधानलाई कार्यकारिणी समितिबाट पारित गरी पुनः संसदीय दलमा ल्याएर दलको नेता चयन गर्ने प्रक्रिया सुरु गरिने यादव पक्षीय नेताहरूले बताएका छन् ।

यस्तै मंगलबार नै बसेको ठाकुर पक्षको कार्यकारिणी समितिको बैठकले पार्टीको आधिकारिकताका लागि यादवले निर्वाचन आयोगमा दिएको निवेदन फिर्ता लिए एकताका लागि पहल गर्न सकिने निर्णय गरेको थियो ।

प्रकाशित : २०७८ श्रावण ५, मंगलवार २१:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ