खनालको उपचारका लागि ३० लाख रुपैयाँ निकासा


काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनालको उपचारका लागि सरकारले ३० लाख रुपैयाँ निकासा भएको छ ।

एमाले उपमहासचिव विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री रहँदा नै यो रकम निकासा भइसकेको स्रोतले जनायो । केपी शर्मा ओली प्रधानमन्त्री भएकै बेला नेता खनालको उपचार खर्च व्यहोर्ने निर्णय गरेको थियो । ओली सरकारले गरेको यो निर्णयमा वर्तमान शेरबहादुर देउवा सरकार पनि सहमत छ ।

दिल्लीस्थित नेपाल दूतावासले परराष्ट्र मन्त्रालयमार्फत खनालको उपचारका लागि करिब ३० लाखको हिसाब पठाएको थियो । सोही आधारमा रकम पठाइएको छ । दुबै मिर्गौला काम गर्न छाडेपछि केहि दिनअगाडी नेता खनाल दिल्ली पुगेर एपोलो अस्पताल भर्ना भएका छन् । उनको मिर्गौला प्रत्यारोपण गरिनेछ ।

विदेशमा नेतालाई उपचार गराउन रकम निकासा गर्नु कानुन विपरीत हो । २ असोज २०७५ देखि लागू भएको जनस्वास्थ्य ऐनको दफा ३० मा ‘प्रचलित कानुनमा जुनसुकै कुुरा लेखिएको भएता पनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोका लागि लाग्ने खर्च नेपाल सरकारले उपलब्ध गराउने छैन’ भनिएको छ ।

प्रकाशित : २०७८ श्रावण ७, बिहीबार ०९:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ